कृष्णउदास खनाल
वीरगञ्ज,फागुन २१को चुनावको मिति नजिकिदै गर्दा पर्सा जिल्लामा पनि निर्वाचनको माहौल बढ्दै गइरहेको छ ।पर्साको कुल चारवटा निर्वाचन क्षेत्रमा उठेका एकसय भन्दा बढी उम्मेदवारहरु अहिले नियमित घरदैलोमा खटिरहेका छन् । पर्सामा यसपालि पुराना राजनीतिक दलका पुराना उम्मेदवारदेखि नयाँ राजनीतिक दलका नयाँ र स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा होमिएका छन् । पुराना दल काँग्रेस, एमाले र नेपाली कम्यूनिष्ट पार्टीदेखि नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टी लगायतका नयाँ दलका नयाँ उम्मेदवार चुनावी मैदानमा छन् । पटक पटक चुनाव जितेका र अहिलेसम्म चुनावी मैदानमा नउत्रिएका राजनीतिक दलहरुका उम्मेदवार पनि अहिले चुनावी मैदानमा उत्रिएका छन् । जेनजी उमेर समूहदेखि झण्डै उमेरले सात दशक काटेका नेताहरु चुनावी मैदानमा उत्रिएका छन् ।
पर्सामा क्षेत्र नम्बर एक मा पटक पटक मन्त्री भएका र अघिल्लो चुनाव जितेका प्रदीप यादवदेखि उद्योगी अनिल रुंगटादेखि व्यवसायी हरि पन्त र अशोक टेमानी लगायत चुनावी मैदानमा छन् भने क्षेत्र नम्बर २ मा एमालेले युवा उम्मेदवारको रुपमा रीना यादवलाई उठाएको छ भने अन्य दलहरुले पनि आफ्ना उम्मेदवारलाई मैदानमा उतारेको छ ।
क्षेत्र नम्बर तीनमा काँग्रेसका पुराना नेता र मन्त्री समेत भएका सुरेन्द्र चौधरीदेखि अन्य दलका नयाँ उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर ४ मा भने काँग्रेसका पुराना तथा मन्त्री समेत भएका र निवर्तमान सांसद रमेश रिजालदेखि नयाँ दलका नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
अघिल्लो चुनाव २०७९ मा क्षेत्र नम्बर १ बाट उत्तिबेला जसपामा रहेका प्रदीप यादवले यहाँ चुनाव जित्नु भएको थियो भने २ र ३ मा एमाले तथा चारमा रमेश रिजालले नै चुनाव जित्नुभएको हो तर यसपालि मतदाताको संख्या पनि बढेको र नयाँ दलका नयाँ उम्मेदवार आक्रामक रुपमा मैदानमा खडा भएका कारण चुनावी प्रतिस्पर्धा सहज नभएको र नयाँले पुराना दल र उम्मेदवारलाई चुनौती दिइरहेको बिश्लेषण गरिएको छ ।यसअघिका चुनावमा मुख्यतः काँग्रेस, एमाले र जसपाका बीचमा प्रतिस्पर्धा भएतापनि यसपालि अवस्था फरक रहेको यहाँका राजनीतिक विश्लेषक र मतदाता स्वयमुले भनिरहेका छन् ।


















