वीरगन्ज, पर्सा। वातावरणमैत्री सुधारिएको चुलो प्रवर्द्धन कार्यक्रममा सरकारको ध्यान पर्याप्त रूपमा नपुगेको भन्दै यस क्षेत्रमा क्रियाशील उद्योगीहरूले सहुलियतपूर्ण बैंक कर्जाको माग गरेका बारे हक्स पावर नेपालका प्रबन्ध निर्देशक मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।
वीरगन्ज क्षेत्रमा सुधारिएको चुलोको उत्पादन झण्डै एक दशकदेखि निरन्तर चलिआएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थाका प्राध्यापक डा. राजेश राईका अनुसार सुधारिएको चुलोको प्रयोगले स्वास्थ्य, वातावरण र ऊर्जा–तीनै क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको बताउनुभयो । वन विज्ञान अध्ययन संस्थाका प्राध्यापक डा. राईका अनुसार “सुधारिएको चुलोले घरभित्रको धुवाँजस्तो प्रदूषण घटाउँछ, दाउराको खपत कम हुन्छ, वनजंगल माथिको दबाब घट्छ र कार्बन उत्सर्जन नियन्त्रणमा टेवा पुग्छ ।
त्यसैले सरकारले यसलाई प्राथमिकतामा राखेर प्रवर्द्धन गरेमा थप ठोस उपलब्धि देखिने दावी गर्नुभयो ।” सुधारिएको चुलो व्यवसायिक रूपमा उत्पादन गरिरहेको हस्क पावर नेपाल कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक गुप्ताले हरित प्रविधि अंगालेका उद्योगलाई विशेष कर्जा सुविधा अत्यावश्यक भएको बताउनुभयो । उहाँका अनुसार यस्तो उद्योगलाई साधारण उद्योगसरह व्यवहार गर्दा उत्साह घट्ने र लगानी विस्तार चुनौतीपूर्ण हुने गरेको जानकारी दिनुभयो ।
हक्स पावर नेपालका प्रबन्ध निर्देशक गुप्ता भन्नुहुन्छ , “हामीले वातावरणमैत्री उत्पादकत्व अघि बढाइरहेका छौँ, तर राज्यबाट छुट्टै प्रोत्साहन पाउन सकेका छैनौँ । वातावरणसँग जोडिएका उद्योगका लागि छुट्टै नीति र कर्जा सुविधा हुनुपर्छ । अब सरकारको ध्यान त्यतातर्फ जानु अपरिहार्य भइसकेको छ ।”
वीरगन्ज महानगरपालिका–२१ मा स्थापना गरिएको उद्योगले पछिल्ला सात वर्षमा सुधारिएको चुलोको ठूलाे मात्रामा उत्पादन गरेको जानकारी दिनुभयो । प्रारम्भिक वर्षमा ६ सय चुलो उत्पादनबाट सुरु गरेको कम्पनीले हालसम्म करिब तीन लाखभन्दा बढी सुधारिएको चुलो बजारमा पुर्याइसकेको बताउनुभयो । अहिले वार्षिक ३२ हजारभन्दा बढी चुलो उत्पादन गर्न सकिने क्षमता विकास भएको कम्पनीको दाबी छ ।
कम्पनीले पंखासहित र पंखाविहीन दुवै प्रकारका सुधारिएको चुलो उत्पादन गरिरहेको छ । यी चुलोले इन्धनको खपत घटाउने, आगो बाल्दा निस्कने धुवाँ कम गर्ने र ग्रामीण घरपरिवारको स्वास्थ्य जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दावी गर्नुभयो ।



















