सिम्रानगढ,माछापालनको दृष्टिले नेपालमै प्रसिद्ध बाराको सिम्रौनगढ क्षेत्रमा पछिल्लो समय यो व्यवसायप्रति किसानहरुको आकर्षण घट्दै गएको पाइएको छ ।किसानहरुको घट्दो आकर्षणका कारण सिम्रौनगढ क्षेत्रमा माछापालनका लागि नयाँ पोखरी खन्ने काम ठप्पप्राय बनेको छ । विगत दुई वर्षदेखि माछापालन गर्दै आएका किसानहरूले अपेक्षित लगानीअनुसार मुनाफा नआएपछि नयाँ पोखरी खनेर माछापालन विस्तार गर्ने कार्यमा विराम लगाउन थालेका हुन् ।

पछिल्लो समयमा बजारमा माछाको मूल्य घटेपछि व्यवसायबाट हात झिक्नुपरेको किसानहरुको भनाई छ । ‘जिउदो माछाको मूल्य घटेपछि मुनाफा पनि घट्यो, स्थानीय अगुवा किसान गगनदेव कुशवाहाले भन्नुभयो, जसको परिणाम स्वरुप किसानहरु माछा पालन पेसाबाट विस्थापित हुने क्रम पनि बढेको हो ।’

त्यसैगरी सङ्घीय र प्रदेश सरकारले माछापालक किसानलाई दिँदै आएको अनुदान कटौति र प्राविधिक सहयोग बन्द गर्नुले पनि किसानहरु पेसाबाट पलायन हुन थालेको कुशवाहाको भनाई छ । औषधि र दानामा अनुदानको व्यवस्था नहुँदा पनि किसानको लागत बढेको र साना पोखरी भएका किसानहरू अन्य कृषि कार्यतर्फ आकर्षित हुन थालेको उहाँले जानकारी दिनुभएको छ ।

सिम्रौनगढ क्षेत्र माछापालनका लागि वर्षौं अघिदेखि चर्चित रहँदै आएको छ । यहाँ हाल पनि ५० भन्दा बढी पुराना प्राकृतिक पोखरीहरूमा माछा पालन गरिन्छ । यहाँको झरोखर पोखरी देशकै सबैभन्दा ठूलो प्राकृतिक पोखरीको रूपमा चिनिन्छ । ५२ बिघा क्षेत्रफलमा फैलिएको यो पोखरी भाडामा लिएर स्थानीयले माछा पालन गर्ने गरेका हुन ।
यसअघि चितवनको भण्डारामा ११० बिघामा फैलिएको मानवनिर्मित पोखरीमा ठूलो मात्रामा मत्स्यपालन हुने गरेको थियो, तर दुई दशकभन्दा बढी समयदेखि त्यहाँ मत्स्यपालन बन्द भई कपास खेती र बङ्गुरपालन हुँदै आएको छ । भण्डारापछिको सबैभन्दा ठूलो पोखरी सिम्रौनगढको झरोखर नै हो । यसका अतिरिक्त अढाई बिघामा फैलिएको कङ्कालीमाई पोखरीसहित यस्ता करिब ५० वटा प्राकृतिक पोखरीहरू सिम्रौनगढ क्षेत्रमा रहेका छन् । स्थानीयले ती पोखरीहरु ठेक्कामा लिएर वर्षौअघिदेखि माछापालन गर्दैआएका थिए ।

प्राकृतिक पोखरीहरूमा माछापालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरू निजी खेतमा पनि पोखरी खनेर माछापालन पेसातर्फ आकर्षित भएका हुन ।त्यसैको परिणामस्वरूप पछिल्ला वर्षहरूमा यहाँका किसानहरुले दुई सयभन्दा बढी कृत्रिम पोखरीहरू खनेर माछापालन गर्दैआएका छन । तर पछिल्लो समय सरकारी अनुदानको कटौति र बजारमा माछाको मूल्य घटेपछि किसानहरुको अन्न बाली र तरकारी खेतीमा आकर्षित बनेका छन ।

Leave a Reply