राजन कुमार बानिया
पोखरिया,पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटाडमा आज निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
तीन दिने निःशुल्क आँखा शिबिरमा ५ हजार ५१४ जना आँखाका बिरामीहरुको चेकजाँच गरिएको थियो । परीक्षण गरिएका मध्ये ४ सय ६३ जनामा मोतियाबिन्दु फेला परेको र उनीहरुको भौराटाडमा आयोजित शिबिरमा शल्यक्रिया गरिएको हो ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोग तथा बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटाड र जनमुखी युवा क्लब भौराटाडको संयुक्त आयोजनामा ३ दिनसम्म चलेको निःशुल्क आँखा शिबिर सम्पन्न भएपछि तिलगंगा आँखा प्रतिष्ठान काठमाडौका प्राविधिक टोलीको एक समारोहकाबीच विदाई गरिएको थियो ।
सो कार्यक्रममा विशिष्ठ अतिथि वडा नम्बर ५ भौराटाडका वडा अध्यक्ष सुनिल महतो कोइरी, क्लबका अध्यक्ष शिवशंकर साह, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौका प्राविधिक चिकित्सक प्रशान्त, एलिना गौचन, हेमन्त झा, दिप्ति पौडेलको सहभागिता रहेको थियो ।
कार्यालय सचिव रामप्रवेश मण्डलले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा रामबाबु साह, सशस्त्र प्रहरी बल बागेश्वरी तित्राउनाका प्रमुख, तिलगंगा अस्पतालका प्रतिनिधि, चिकित्सक र समाजसेवीहरुलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालक दुलारचनप्रसाद साहलाई प्रशंसनीय कार्य गरेबापत प्रशंसा तथा सम्मान पत्र प्रदान गरिएको थियो । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ वडा नम्बर ५ भौराटाड र जनमुखी युवा क्लबको संयुक्त टोलीले ६ वटा पालिकाहरुमा स्क्यानिङ्ग शिबिर चलाएर मोतियाबिन्दुका बिरामीहरु पत्ता लगाएको थियो । जिल्लाको सखुवाप्रसौनी, जगरनाथपुर, धोबिनी, छिपहरमाई, पकहामैनपुर, बहुदरमाई पालिकामा चेकजाँच गरि तीन दिनसम्म क्याम्पेनिङ्ग गरि शल्यक्रिया, औषधी, चसमालगायत समाग्रीहरु निशुल्क वितरण गरिएको थियो ।



















