राजकुमार यादव
रौतहट,रौतहटमा जग्गाको विषयलाई लिएर दुई पक्षबीच विवाद भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते भएका छन ।मृत्यु हुनेमा जिल्लाको फतुवा विजयपुर नगरपालिका– २ सितलपुरका ६० वर्षीय शंकर साह बनिया रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जग्गाको विषयलाई लिएर आज दिउँसो स्थानीय शंकर साह बनिया र कपिलदेव यादव पक्षबीच विवाद भएको थियो ।दुबै पक्षबीच विवाद भई कुटाकुट हुँदा शंकर साह बनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका निरीक्षक रामकुमार महतोले बताउनुभएको छ । कपिलदेव यादव पक्षले निर्घात कुटपिट गर्दा शंकर साहको मृत्यु भएको प्रहरी निरीक्षक महतोले बताउनुभयो ।
सो क्रममा शंकर साह पक्षले गरेको आक्रमणमा परेर कपिलदेव यादवको श्रीमती ४० वर्षीया मिना देवी घाइते भएकी छिन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित पक्ष मृतक शंकर साह बनियाका नाति पप्पु कुमार बनियाले हरिदेव यादवले बाँस काट्ने खुखुरी प्रहार गरी हत्या गरेको दाबी गरेका छन्।
मृतक शंकर साह बनियालाई कुटपिट गर्ने स्थानीय कपिलदेव यादव, ब्रह्मदेव यादव, विनोद भन्ने हरिदेव यादव र ब्रह्मदेवका छोरा सुरेश यादव हाल फरार रहेको र उनीहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।घटना लगत्तै इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मनियाका प्रहरी निरीक्षक सुरेन्द्र यादवको कमाण्डमा गएको प्रहरी टोलीले घाइते साहलाई उद्धार गरी उपचारका लागि एलिएस न्यूरो हस्पिटल वीरगञ्ज पठाएको थियो । तर गम्भीर घाइते उनको उपचारको क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको थियो ।घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

















