काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनको बेइजिङमा हुने सैन्य परेडको अवलोकन गर्नु हुने भएको छ ।
शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५औं शिखर सम्मेलनमा भाग लिन शनिवार चीन जान लाग्नुभएका प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ तारिख अर्थात् भदौ १८ गते हुने ७० मिनेट लामो परेडको अवलोकन गर्नु हुने भएको हो ।
चीनको विदेश मन्त्रालयले बिहीवार बिहान आयोजित पत्रकार सम्मेलनमा २६ जना विदेशी राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले परेड अवलोकन गर्ने जानकारी गराएको छ । यसमा नेपालका प्रधानमन्त्री ओलीसहित रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन लगायत हुनुहुन्छ । उत्तर कोरियाली नेता उनको यो पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय बैठक हुनेछ ।
जापानी अतिक्रमणविरुद्ध चिनियाँ युद्ध तथा फासिस्टवाद विरोधी विश्वयुद्ध विजयको ८०औं वर्षगाँठका अवसरमा चीनले परेड प्रदर्शन गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा चीनका सहायक परराष्ट्रमन्त्री हुङ लेइले यस पटकको परेड उच्चस्तरीय, प्रतिनिधित्वपूर्ण र व्यापक सहभागितामूलक हुने बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको भोलिको बैठकमा सम्बोधन गर्नु हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गर्नुभएको छलफलका क्रममा यसबारेमा जानकारी गराउनुभएको हो ।प्रधानमन्त्री ओलीले चीन भ्रमणको बारेमा सदनलाई जानकारी गराउने कार्यसूची रहेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।



















