सिमरा,बाराको जीतपुरमा ५१ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । जीतपुरसिमरा हिन्दु समाजले बिहीवारदेखि आइतवारसम्म चार दिन कुण्डीय महायज्ञ हवन तथा पुराण कथा वाचनको आयोजना गर्न लागेको हो ।हिन्दु समाजले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै जीतपुरको केरा ढोकास्थित बंगाली बाबा धर्म युग आश्रम परिसरमा महायज्ञ आयोजना गरिने जानकारी दिएको हो । महायज्ञको शुभारम्भ गर्न बिहीवार बिहान ८ बजे जीतपुरमा कलश शोभा यात्रा आयोजना गरिएको समाजका अध्यक्ष सन्तोष कुशवाहाले जानकारी दिनुभयो ।

उहाँका अनुसार फागुन १६, १७ र १८ गते बिहान ८ बजेदेखि ११ बजेसम्म हवन गरिने र साँझ ५ बजेदेखि ९ बजेसम्म प्रवचन तथा भजन किर्तनको समय रहने छ । कुशवाहाले महायज्ञका लागि करिब १३ लाख रुपैयाँ खर्च हुने अनुमान गर्नुभएको छ । स्थानीय स्तरमा इच्छुक व्यक्तिको दान र सहयोगबाट महायज्ञ आयोजना हुने कुशवाहाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष श्रीराम साह कानु, सचिव अमर यादव, कोषाध्यक्ष राकेश गुप्ता, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरी, स्थानीय अगुवा शिवजीप्रसाद साह, राजुराज गिरी, शेखर भण्डारीलगायतको उपस्थिति रहेको थियो ।सकारात्मक उर्जा, मानसिक शान्ति र वातावरणीय सन्तुलनका लागि गायत्री कुण्डीय महायज्ञको आयोजना गर्न लागिएको आयोजकको भनाई छ । आयोजकले कलश यात्रा र महायज्ञमा सहभागी हुन आहवान गरेको छ ।

















