निजगढ,नेकपा एमालेको जनसंगठन भुमि अधिकार तथा श्रमिक संगठन, नेपाल, मधेस प्रदेश कमिटीको बैठक जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टाँगियाबस्तिमा सोमवार सम्पन्न भएको छ ।युवा तथा खेलकुद पूर्वमन्त्री एवंम नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा भएको सो बैठकले आगामी पौष मसान्तभित्र मधेस प्रदेशका ८ वटै जिल्लामा संगठनको जिल्ला अधिवेशन सम्पन्न गर्ने र फागुन मसान्तभित्र प्रदेशका सबै पालिकाका वडाहरूमा सदस्यता वितरण तथा वडा कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

साथै बैठकले भूमिहीन तथा सुकुम्बासीहरूलाई तत्काल जग्गाधनी पूर्जा उपलब्ध गराउन पनि सरकारसंग माग पनि गरेको छ । बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले श्रमजीवी जनताको मुक्तिको आन्दोलनका लागि श्रमिक संगठन निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भूमिहीन श्रमिकको पक्षमा एमालेले मात्रै काम गरेको स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले असंगठित क्षेत्रका श्रमिकहरूले विगतामा दैनिक ५ किलो अन्न ज्याला पाउने गरेको, कतिपय ठाउँमा कम ज्यालामा काम गर्नुपर्ने अवस्था अहिले पनि रहेको उल्लेख गर्दै योग्यता अनुसारको काम र काम अनुसारको दामका लागि सबै गोलबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

भुमिहिन श्रमिक संगठनका महासचिव इन्द्र लामाले भूमिहीनहरूको समस्या समाधान गर्नका लागि संगठन लागिपरेको उल्लेख गर्दै श्रमिकको हरेक दुःख सुखको साथी आफ्नो संगठन भएको दाबी गर्नुभयो । संगठनको मधेस प्रदेश कमिटीका अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका उपाध्यक्ष तथा राष्ट्रिय भूमि आयोगका केन्द्रीय सदस्य गुन्ज खड्का, संगठनका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रमेश सापकोटा, एमाले मधेस प्रदेश कमिटी सदस्य ढुण्डिराज उप्रेती, बारा जिल्ला कमिटी सदस्य सरिता सापकोटालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply