निजगढ,बारा जिल्लाको सबैभन्दा पुरानो कृपा दैनिक पत्रिकाले नवजान कल्याण कोषमार्फत वितरण गर्दैआएको उमादेवी स्मृति पत्रकारिता पुरस्कार यो वर्ष रौतहटका पत्रकार फणी महत र सर्लाहीका पत्रकार ओमप्रकाश ठाकुरलाई संयुक्त रुपमा प्रदान गरिने भएकोछ ।
त्यसैगरी कल्याण कोषले नै प्रदान गर्ने चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार भने बाराकी पत्रकार शारदा पोखरेललाई प्रदान गरिने छ ।कृपा दैनिकको वीरगञ्जस्थित कार्यालयमा बुधवार बसेको पुरस्कार छनौट समितिको बैठकले रु. ५० हजार धनराशीको उमादेवी स्मृति पत्रकारिता पुरस्कार रौतहटका पत्रकार महत र सर्लाहीमा क्रियाशील पत्रकार ठाकुरलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । महत र ठाकुरलाई सम्मानपत्र सहित. २५÷२५ हजारका दरले पुरस्कृत गर्ने निर्णय भएको कृपा दैनिकका कार्यकारी सम्पादक एवम् पुरस्कार छनौट समितिका संयोजक कृष्ण उदास खनालले जानकारी दिनुभयो । लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील महत अन्नपूर्ण दैनिकको रौतहट सम्वाददाता र ठाकुर सर्लाहीबाट कान्तिपुर टेलिभिजनको रिपोर्टर हुनुहुन्छ ।
यसैगरी कार्यकारी सम्पादक खनालका पिता चन्द्रप्रसाद खनालको नाममा स्थापित १० हजार राशीको चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार भने बाराकी सक्रिय पत्रकार शारदा पोखरेललाई प्रदान गर्ने निर्णय भएको छ । हाल राटोपाटी अनलाइनमा कार्यरत पोखरेल जिल्लामा सक्रिय पत्रकारको रुपमा चिनिनुहुन्छ ।कृपा दैनिकको बार्षिकोत्सवको अवसरमा बाराको निजगढमा हुने कार्यक्रममा दुबै पुरस्कारहरु वितरण गरिने नवजान कल्याण कोषकी संचालक सविता चालिसेले जानकारी दिनुभयो । कृपा दैनिकले २०औं बार्षिकोत्सव यही फागुन ५ गते एक विशेष कार्यक्रमको आयोजना गरी बाराको निजगढमा मनाउने तयारी गरेको छ ।
कृपा दैनिकका तत्कालिन प्रधान सम्पादक नवराज उपाध्यायकी धर्मपत्नी उमा (जानकी) देवी उपाध्यायको नाममा नवजान कोषले उमादेवी स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेर २०७२ सालदेखि र चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार भने २०६६ सालबाट निरन्तर रुपमा वितरण गर्दैआएको छ ।


















