काठमाडौं : कास्की-२ स्वर्गीय रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको किल्ला हो। स्वर्गीय अधिकारीले संविधानसभाका दुई र प्रतिनिधिसभाको एक गरी तीन पटक विजय प्राप्त गरे। तेस्रो पटकको जितसँगै रवीन्द्र पर्यटनमन्त्री बने। ०७५ फागुन १५ गते ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा रवीन्द्रको निधन भयो। रवीन्द्रको निधनपछि रिक्त रहेको कास्की-२ मा शनिबार (मंसिर १४ गते) भएको उपनिर्वाचनबाट पत्नी विद्या भट्टराई भारी मतले विजयी भएकी छन्।
विद्याको जितसँगै उनको काँधमा रवीन्द्रको विरासत जोगाउने दायित्व थपिएको छ। कांग्रेसका खेमराज पौडेललाई आठ हजार चार सय ३ मतले पराजित गर्दै विद्या रवीन्द्रको विरासतमा उदाएकी हुन्। विद्याले २४ हजार तीन सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खेमराजले १५ हजार ९ सय ९१ मतमात्र ल्याएका छन्।
२०६४ र ०७० मा भएको संविधानसभा सदस्यको निर्वाचनमा विजयी भएका रवीन्द्रले २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा २७ हजार २०७ मत ल्याएर शानदार जित दर्ता गरेका थिए। रवीन्द्रका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मतमात्र ल्याएका थिए।
रवीन्द्रले आठ हजार पाँच सय ४६ मतले कांग्रेसका देवराजलाई पराजित गर्दा विद्याले कांग्रेसका खेमराजलाई आठ हजार चार सय ३ मतले पराजित गरेकी हुन्। यो मतपरिणामले विद्यालाई निर्वाचित मात्र गराएको छैन पार्टीभित्र शक्तिशाली नेतृको रुपमा उभ्याएको छ।
विद्यालले अधिकारी निधनको संवेदना र सदभाव बटुल्दै शानदार जित दर्ता गरेकी हुन्। विद्या रवीन्द्र पत्नीमात्रै नभएर लामो समय राजनीति गरेकी नेतृ पनि हुन्। उनलाई धेरैले प्राज्ञिक व्यक्तित्वको रुपमा चिन्छन्। उनले चुनावी प्रचारका क्रममा रवीन्द्र पत्नीको रुपमा मात्र नहेर्न मतदातासँग विनम्र अनुरोध गरेकी छन्। सँगै उनले रवीन्द्रका बाँकी सपना पूरा गर्ने बचनसमेत दिन छुटाएकी छैनन्।
उनले पोखरामा चक्रपथ निर्माण गर्ने, पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने एजेन्डालाई प्राथमिकता दिएर मत मागेकी छन्। विद्या रवीन्द्र सक्रिय राजनीनिमा हुँदा प्राज्ञिक क्षेत्रमा थिइन्। आम चुनावमा उनले पहिलो अनुभवमै शानदार उदय प्राप्त गरेकी हुन्। आइतबारको जितसँगै कास्की २ मा रहेका पोखरा महानगरपालिकाका ११ वडाका जनताको भोटले विद्यालाई राष्ट्रिय राजनीतिमा डेब्यू गराएको छ। जनताको विश्वासमा अब विद्याले न्याय गर्ने दिन आएको छ।
विद्यालाई उनका बुबा उमेरका निकटतम प्रतिद्वन्द्वी खेमराजले हृदयदेखि नै बधाई दिएका छन्। उनले राम्रो गर्न सुझावसमेत दिएका छन्। यसले प्रतिपक्षीको माया र साथसमेत विद्याले पाउने देखिएको छ। साभांर : अन्पूर्णपाेष्ट