हेटौंडा,रौतहट र सिन्धुलीको सीमा क्षेत्रमा अज्ञात समूहले गोली प्रहारबाट मकवानपुरका एक जना शिक्षक घाइते भएका छन ।गोली प्रहारबाट मकवानपुरको बकैया गाउँपालिका– ३ हात्तिसुढेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्याक प्रेमबहादुर बम्जन घाइते हुनुभएको हो । रौतहटको गैंडाटारस्थित आफन्तलाई भेटर घरतर्फ फकिँदै गरेको अवस्थामा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका सिन्धुली– कर्मैया सडक खण्डमा गोली प्रहार भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोटरसाइकल चलाएर हिँडिरहेको अवस्थामा ३ जनाको समूहमा रहेका नचिनेका मानिसहरुले बम्जनलाई रोकेर नल कटुवा बन्दुकले गोली प्रहार गरेका हुन ।हेलमेट लगाएका कारण बम्जनको दाहिने गाला छेडिएको र गोली बंगारामा अड्किएको बताइएको छ । ‘बंगरामा गोली अड्किएकाले ज्यान जोगिएको छ ।’ डिएसपी खड्काले भन्नुभयो ।
बम्जनले चलाएको प्रदेश २–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकल पछाडि उहाँका भाइ दिलबहादुर बम्जन सवार रहेकोमा उनी सकुशल रहेको डीएसपी खड्काले जानकारी दिनुभयो ।
मकवानपुरको बागमती गाउँपालिका– १ बोटगाउँ घर भएका प्रअ बम्जनमाथि घर फर्कने क्रममा ३ जनाको गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । बाटो ढुकेर गोली प्रहार गरेको देखिएकोले व्यक्तिगत दुश्मनीका कारण बरदात भएको हुनसक्ने प्रहरीको आशंका छ ।घाइते बम्जनलाई सर्लाहीमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।


















