राजन कुमार बनिया
पोखरिया,पर्साको पटेर्वासुगौली गाउँपालिकास्थित रामभोरी भाठामा रहेको दुधेश्वर महादेब मन्दिरमा लागेको मेला भरेर फर्कने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने उक्त दुर्घटनामा आधा दर्जनभन्दा बढी दर्शनार्थीहरु सामान्य घाइते भएका छन ।

मन्दिर परिसरमा लागेको मेलाबाट फर्किने क्रममा पर्साको जानकी टोलको प्रहरी चौकी नजिकै नहरको सडकमा अनियन्त्रित भएर ट्याक्टर पल्टिंदा ट्याक्टर चालक छिपहरमाई गाउँपालिका– ७ टिहुकी निवासी ५० वर्षीय प्रेम मुखिया बिनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । प्रहरी निरीक्षक राजन ढकालका अनुसार रामभौरी भाठास्थित दुधेश्वरनाथ महादेवको दर्शन गरी फर्किने क्रममा दर्शनार्थीहरु चढेको ट्याक्टर सोमवार दिउसो पल्टिएको थियो ।
प्रतक्ष्यदर्शीका अनुसार सडकमा बाख्रा चराउदै गरेका बालबालिका र चौपायलाई जोगाउने क्रममा तीव्र गतिको ट्याक्टर अनियन्त्रित भएर नहरको पानीमा खसेको थियो । घटनाको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक ढकालको नेतृत्वमा पुगेको टोलीले जेसिबीको मद्दतले नहरमा डुबेका चालक बिनसहित ट्याक्टरलाई तानेर बाहिर निकालेको थियो ।प्रहरीले मृतक बिनको शव पोर्टमार्टमको लागि वीरगञ्जस्ति नारायणी अस्पतालमा पठाएको जनाएको छ । ट्याक्टरमा २२ जना श्रद्धालु सवार थिए ।

Leave a Reply