निजगढ, २८ कार्तिक– निजगढ नगरपालिका वडा नम्बर– ८ स्थित बकैयाठाकुर आधारभुत विद्यालयले स्कुल बस संचालन गर्ने भएको छ ।
विद्यालयले संचालन गर्न लागेको बसको साचो शुक्रबार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या पुर्व मन्त्री तथा बारा क्षेत्र नम्बर १ बाट संघीय सभासद उमाकान्त चौधरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।
साचो हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद चौधरीले शिक्षा र स्वास्थ्यको विकासमा सबैले मिलेर काम गर्नु पर्ने बताउनु भयो । शिक्षाको गुणस्तर अभिवृद्धिको लागि विद्यालयको भौतिक अवस्था पनि राम्रो हुनु पर्ने भन्दै उहाँले शिक्षा क्षेत्रको विकासको लागि काम गर्न आफु सधै तयार रहेकोसमेत बताउनुभयो ।
सांसद चौधरीको संसदीय विकास कोषको १५ लाख र निजगढ नगरपालिका वडा नम्बर– ८ को १४ लाख सहयोगमा विद्यालयले बस खरिद गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनालले नगरपालिकाले शिक्षाको विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर लामाले विद्यालयले स्कुल बस संचालन गरेपछि टाढाबाट विद्यालय आउने विद्यार्थीहरुलाई सुविधा पुग्ने बताउनुभयो ।
कक्षा ८ सम्म संचालनमा रहेको विद्यालयमा अग्रेजी माध्यमबाट पठनपाठन हुदै आएको छ । सो विद्यालयमा हाल ३ सय ८५ छात्रछात्रा अध्ययनरत छन ।
विद्यालयमा निजगढ बाहेक जितपुरसिमरा उपमहानगरपालिका १७ टाँगियावस्ति, कोल्हवी र रतनपुरलगायतका क्षेत्रबाट विद्यार्थीहरु भर्ना भएर पठनपाठन गरिरहेको विद्यालयका प्रधानाध्यापक हिमेश घिमिरेले जानकारी दिनुभयो ।
विद्यालयमा कम्प्युटर र विज्ञान प्रयोगशालाको समेत सुविधा रहेको प्रधानाध्यापक घिमिरेले बताउनुभयो ।
स्कुल बसको साचो हस्तान्तरण कार्यक्रमको संचालन विद्यालयका शिक्षक खडकबहादुर खुलालले गर्नुभएको थियो ।