वीरगञ्ज,पर्साबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।प्रहरीले रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ३ कटानी बस्ने वर्ष ३२ को भिमबहादुर वाईवा र सोही ठाउँका २५ वर्षीय मिलन तामाङलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवंम पर्सा प्रहरी कार्यालयका प्रवक्ता कुमारबिक्रम थापाले जानकारी दिनुभयो ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई जाँच गरेको थियो । सोही क्रममा प्र २–०३–००८ प १४३४ नम्बरको स्कुटीका चालक भिमले लगाएको हेल्मेटभित्र लुकाइछिपाइ राखिएको लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रवक्ता थापाले बताउनुभयो । उनको साथबाट प्लाष्टिक वाहेक १२ ग्राम २४० मिली ग्राम लागुऔषध फेला पारेको प्रहरी बताएको छ ।
पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

















