कतिपय भन्ने गर्छन्, ‘छोरीले आमाबुवा राख्न पाउने भए बुढेसकालमा वृद्धाश्रम जानुपर्ने थिएन ।’ यस किसिमको मनोसामाजिक धारणाले छोरीहरूको उपस्थिति कति महत्वपूर्ण हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ तर सासू र बुहारीबीचको तिक्तता भने अरु बढाइदिन्छ । किनभने सदियौंदेखि सासू र बुहारीको सम्बन्धमा न्यानोपन हुँदैन

कतिपय भन्ने गर्छन्, ‘छोरीले आमाबुवा राख्न पाउने भए बुढेसकालमा वृद्धाश्रम जानुपर्ने थिएन ।’ यस किसिमको मनोसामाजिक धारणाले छोरीहरूको उपस्थिति कति महत्वपूर्ण हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ तर सासू र बुहारीबीचको तिक्तता भने अरु बढाइदिन्छ । किनभने सदियौंदेखि सासू र बुहारीको सम्बन्धमा न्यानोपन हुँदैन भन्ने आम धारणा रहँदै आएको छ ।

तर सबैको हकमा यस्तो हुँदैन । आफ्नो छोराले भित्रायाएका बुहारीहरूले पनि छोरीसरह माया र श्रद्धा गर्छन् । समाजमा यस्ता थुप्रै बुहारी छन्, जसले सासू–ससुरालाई छोरीको अभाव महसुस हुन दिएका छैनन् । त्यस्तै घरघरमा यस्ता धेरै सासू छन्, जसले बुहारीलाई आमाको कमी महसुस हुन दिएका छ्र्रैनन् ।

आफ्नो कोखबाट जन्मिएका छोरी नभएपनि बुहारीले त्यो ठाउँ परिपूर्ति गर्न सक्छन् । बुहारीका रूपमा मात्र होइन मिल्ने साथी, सहयोगी, परिपक्व सल्लाहकार र व्यावसायिक साझेदारको भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्छन् । यो त्यही सासू–बुहारीको प्रतिनिधि कथा हो, जुन घरमा छोरी छैनन् वा थिएनन् ।

२१ वर्षअघि । सुनसरी जिल्ला छिटाहाकी सोमनी शाहलाई अनायसै माघी विवाहको प्रस्ताव आयो । तर उनले विवाहबारे सोचेकै थिइनन् । हुने वाला श्रीमान् चिकित्साशास्त्र पढ्दै गरेको कुराले भन्दा पनि ‘छोरी नभएको घर हो । तिमीले छोरीले जस्तै माया पाउँछौ’ भन्ने आमा–बुवाको कुराले उनको मन छोयो । अन्ततः उनले विवाह गर्ने निर्णय गरिन् ।

विवाहपछि उनले सोचेजस्तै भयो । माइतकी कान्छी छोरी उनले विवाहपछि सासूबाट केही फरक व्यवहार पाइनन् । उल्टै हरेक परिस्थितिमा आमाको जस्तै साथ र सहयोग पाइन् । उनी सुनाउँछिन्, ‘माइतमा सबै काम गरे पनि घरमा भान्साको बाहेक केही काम गर्न दिनुहुँदैन । सासू–ससुरा खेतीपाती गर्नुहुन्छ तर मलाई केही काम गर्नु पर्दैन । दुःख नगर भन्नुहुन्छ ।’

सुत्केरी अवस्थामा स्याहार–सुसारका लागि माइतमा पठाउने प्रचलन छ, नेपाली समाजमा । सोमनीले भनिन्, ‘तर मलाई दुवैजना बच्चा हु“दा माइतको जस्तो स्याहार गरेर सासूले घरमै राख्नुभयो ।’ सासू भन्नुहुन्थ्यो ‘छोरी छैन त्यसैले म छोरीलाई जस्तै स्याहारसुसार गरेर यहीँ राख्छु ।’

विवाह गरेको यतिका वर्ष बितिसक्दा पनि सासू–बुहारीबीच कहिल्यै मनमुटाव भएको छैन । सोमनी भन्छिन्, ‘उहाँहरूले मलाई कहिल्यै बुहारीका रूपमा नहेरी छोरीकै रूपमा हेर्नुभएको छ । मनपर्ने–मननपर्ने कुराको ख्याल राख्ने र गाउँबाट मनपर्ने खानेकुरा बनाएर पठाइदिनुहुन्छ । उहाँहरू माछामासु खानुहुन्न तर हाम्रा लागि ल्याइदिनुहुन्छ ।’

अहिले उनी श्रीमान्, छोरा र छोरीका साथ विराटनगरमा बस्दै आएकी छन् । सासू–ससुरा गाउँ ९डुम्रँहा० मा बस्छन् । बेलाबखत आमाबुवा छोरा–बुहारी र नातिनातिनालाई भेट्न विराटनगर आउँछन् भने कहिले उनीहरू गाउँ पुग्छन् । दिनको एकपटक फोनमा कुरा भइरहन्छ । बुहारीलाई कहिल्यै बुहारीका रूपमा नहेरी छोरीका रूपमा हेरेकी अनरबती भन्छिन्, ‘मलाई छोरीको रहर थियो त्यो बुहारीले पुरा गरिदिएकी छिन् । मेरो लागि बुहारी नै छोरी हो ।’

पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी लक्ष्मी खरेल चाहन्थिन्, दोस्रो सन्तान छोरी जन्मियोस् । तर उनले चाहेजस्तो भएन । दोस्रो सन्तान पनि छोरा जन्मियो । ‘मलाई कति छोरीको रहर थियो । छोरा नै जन्मिएपछि मन खिन्न भयो’ लक्ष्मी सुनाउँछिन्, ‘झन्डै एक महिना त रोएरै बिताएँ ।’

घरमा छोरी नहुँदा उनले जुन शून्य महसुस गर्थिन् त्यसको परिपूर्ति गर्न आइपुगिन्, सुकृति भट्ट । हुन त उनी छोराले विवाह गरेर भिञायाएकी बुहारी थिइन् । तर उनका लागि बुहारी भन्दा बढी छोरी थिइन् । किनभने सधैं छोराको आवाजमा ‘मामु’ भनेको सुन्दै आएको उनले पहिलो पटक छोरीको आवाजमा बुहारीले मामु भनेर सम्बोधन गर्दा निकै भावुक भएकी थिइन् ।

लक्ष्मीलाई बुहारी कस्ती आउने हुन्भन्ने चिन्ता सधै भइरहन्थ्यो । दश वर्षसम्म लभ अफेयरमा रहेका छोरा–बुहारी भए पनि उनलाई कहिल्यै बुहारी भेट्ने इच्छा भएन । न त सुकृतिलाई नै हुनेवाला सासू भेट्ने मन भयो । सुकृति सुनाउँछिन्, ‘साँच्चै भन्नुपर्दा म सासूप्रति ‘इन्ट्रेस्टेड’ नै थिइन । सिर्फ हुनेवाला श्रीमान्का आमाका रूपमा हेर्थें । किनभने सानैदेखि सासू–बुहारीको सम्बन्ध भनेको केयरफुल हुने सम्बन्ध हो भन्ने बुझ्दै हुर्केकी थिएँ ।’

नेपाली समाजमा श्रीमान्सँग भन्दा पहिला परिवारसँग वा सासूसँग एडजस्ट हुनुपर्छ भन्ने चलन छ । सुकृतिका आमाबुवाले पनि सधैं सासूसँग मिल्न सकिएन भने परिवार राम्रँे हुँदैन भनिरहने भएकाले उनलाई सासूसँग मिल्नैपर्छ भन्ने प्रेसर थियो । त्यसैले उनी सासूसँग राम्रो व्यवहार गर्छु भन्ने थियो । तर उनले विवाहपछि त्यसको ठीक उल्टो पाइन् । उनी भन्छिन्, ‘अहिले हाम्रो सम्बन्ध सासू–बुहारीको भन्दा धेरै मिल्ने साथीको जस्तो वा भनौं त्यसभन्दा पनि माथि राख्छु ।’

लक्ष्मीले पनि बुहारी आएपछि छोरा हातबाट फुत्किन्छ भन्नेहरू नभेटेकी होइनन् । आफन्त र साथीभाइबाट ‘बुहारी आएपछि थाहा पाउँछेस्’ भन्ने शब्द कयौंपटक सुनिसकेकी थिइन् । छोरासँग विवाह गरेर बुहारीका रूपमा सुकृति घरमा आएपछि लक्ष्मीले गाडीबाट निस्कनेबित्तिकै उनलाई अंगालो हालिन् । लक्ष्मी सुनाउँछिन्, ‘म पनि उनीजस्तै यो घरमा आएकी थिएँ । मैले पनि माया खोज्छु उनी त झन् नयाँ घरमा आएकी छिन् । उनलाई पनि मायाको आवश्यकता हुन्छ । म सासू भनेको सासू नै हो र बुहारी भनेको बुहारी नै भन्ने सोचाइलाई मेट्न चाहन्थें ।’

सासू र बुहारीको धेरै कुरा एक–अर्कासँग मिल्छ । दुवैजनाको प्राथमिकता एउटै छ । उनीहरूलाई लाग्छ, ‘त्यसले हाम्रो ‘बन्डिङ’ मजबुत भएजस्तो लाग्छ ।’

बैंकर्स दिभा पन्तलाई प्रायःजसो बिहान सबेरै अफिस पुगिसक्नुपर्ने घर फर्कदा रात परिसकेको हुन्छ । तर उनलाई कहिल्यै सासूले प्रश्न गर्दिनन् । उल्टो उनलाई काम गर्ने वातावरण सहज बनाइदिन्छिन् । घरको अधिकांश काम सासूले नै गरिदिन्छिन् ।

दिभाको बिहान ढिलो उठ्ने बानी छ । उनी भन्छिन्, ‘तर कहिले चाँडै उठ्नुपर्छ भन्नुहुन्न । उहाँमा घरको काम बुहारीले नै गर्नुपर्छ भन्ने सोचाइ छैन । म त्यो मामिलामा भाग्यमानी महसुस गर्छु ।’ दिभा आफ्नी सासूलाई हरेक कुरा सेयर गर्छिन् । उनी थप्छिन्, ‘जति म आफ्नी जन्म दिने आमालाई पनि गर्दिन । मैले उहाँलाई कुनै कुरा लुकाउँदिन ।’

विवाह भएको १४ वर्ष भयो तर पनि कहिल्यै सासूले यसो गर, उसो नगर भनेको दिभालाई थाहा छैन । उनलाई कुनै कुरामा रोकतोक छैन । उनी भन्छिन्, ‘त्यसैले हाम्रो सम्बन्ध बलियो भएको हुनसक्छ ।’

दिभाकी ११ वर्षीया छोरी छिन् । जन्म उनले दिए पनि छोरीलाई सासूले नै हुर्काइन् । उनी सुनाउँछिन्, ‘छोरीको मसँग भन्दा पनि सासूसँग राम्रो सम्बन्ध छ ।’ सासूले कहिल्यै पनि छोरा र बुहारीमा भेदभाव गरेको दिभालाई थाहा छैन । उनले बुहारीको होइन छोरीको जस्तो व्यवहार पाएकी छिन् । सासू कहिलेकाहीँ बाहिर जान्छिन् । त्यतिबेला उनी एकदमै मिस गर्छिन् । ‘उहाँ घरको सिनियर मान्छे भन्ने सुरक्ष्ँित फिल हुन्छ । उहाँको उपस्थितिले नै मनमा ढुक्क फिल हुन्छ’ उनी सुनाउँछिन् ।

छोरीको माया भन्ने कस्तो हुन्छ भन्ने महसुस नगरेको सासू दुर्गा भन्छिन्, ‘सायद छोरी भएको भए यस्तै हुँदो हो ।’ पहिले जस्तो छोरी र बुहारीको काम बाँडफाँड अहिले हुँदैन । त्यसैले छोरी र बुहारी समान हुन्छन् । दुर्गाले बुढेसकालमा ‘छोरी चाहिँ चाहिन्छ’ भन्ने महसुस भने नगरेकी होइनन् । तर दुई सन्तान नै छोरा भएपछि उनले छोरीको रहर गर्न छाडिदिइन् । उनी भन्छिन्, ‘दुईवटै बुहारी राम्रा छन् । उनीहरूले मेरा हरेक आवश्यकता छोरीको अभाव पूरा गरिदिएका छन् ।’ त्यसो त मेरा तीनवटी नातिनी मात्र छन् । उनीहरूको अपार मायामा नै मैले छोरीको माया ठानेकी छु ।

रश्मि शर्माको विवाहको कुरा चल्दै थियो । विवाह हुनुअगावै सासूले ‘मेरी अर्की छोरी आउँदैछिन्’ भन्ने कुराले उनको मन खुसीले भरिएको थियो । रश्मि विवाह गरेर आउँदा चार जना छोरामध्ये दुई जना छोराको विवाह भइसकेको थियो । साहिँली बुहारीका रूपमा उनी घरमा भित्रिएकी थिइन् । उनले बुहारीलाई पनि छोरीकै रूपमा व्यवहार गर्ने कुरा पहिले थाहा पाइसकेकी थिइन् ।

रश्मिको अन्तरजातीय विवाह भएको थियो । शर्माकी छोरी नेवारसँग विवाह हुने भएपछि माइतबाट अनुमति थिएन । उनले आमाबुवाका विरुद्धमा गएर विवाह गरेकी थिइन् । घरमा भने सासूले धुमधामसँग बुहारी भित्रायाइन् । रश्मिको बुझाइमा आमा–छोरी र सासू–बुहारीको सम्बन्ध फरक हुने बताउँछिन् । उनी भन्छिन्, ‘दुवैको महत्व अलग–अलग हुन्छ । आमासँग हरेक कुरा गर्न सहज हुन्छ । कतिपय अवस्थामा आमा र सासूले गर्ने व्यवहार नै फरक हुन्छ । यसको मतलब सासूले माया नगर्ने त होइन तर आमाको माया अर्कै हुँदो रहेछ ।’

कतिपय अवस्थामा भनाइ र गराइमा फरक हुने उनको अनुभव छ । उनी भन्छिन्, ‘सायद छोरी नभएकीले होला उहाँलाई छोरीको सोचाइ र बुझाइ कस्तो हुन्छ अनुभव छैन । तर हामीले सम्झाइ–बुझाइ गरेपछि स्वीकार गर्नुहुन्छ ।’ तर रश्मिसँग यस्ता थुप्रै घटना छन्, जसले उनी सासूलाई आमाभन्दा माथि राख्न चाहन्छिन् । रश्मिको दोस्रो बच्चा हुँदा उनलाई सुत्केरी व्यथाले च्याप्यो । त्यसबेला उनकी सासूले रातभर जागेर उनलाई स्याहारिन् । उनी सुनाउँछिन्, ‘मेरी आफ्नी आमा आउन पाउनुभएन । उहाँले रातभरि मलाई स्याहार्नुभयो । किनभने उहाँको उमेर पनि ७० भइसकेको थियो ।’

हुन त रश्मिलाई हरेक कुरामा सासूलेसहयोग गर्दै आएकी छिन् । उनी र उनकी सासूको पेसा पनि एउटै छ । उनी शिक्षिकाका रूपमा कार्यरत छिन् भने उनकी सासू पनि शिक्षिका नै थिइन् । उनी भन्छिन्, ‘त्यसैले होला उहाँले मेरो कामलाई सम्मान गर्नुहुन्छ । मेरो काम बुझ्नुहुन्छ । त्यसैले मलाई काम गर्न सहज छ ।’ प्रायः हरेक काम गर्दा उनी सासूसँग सल्लाह लिन्छिन् । मनको कुरा खुलेर सेयर गर्छिन् ।

उता सासू अस्थिमाया पनि खुसी छिन् । उनी सुनाउँछिन्, ‘मेरा चारै जना बुहारी राम्रो छन् । उनीहरूले मलाई छोरीले भन्दा बढी माया गरेका छन् ।’ विभिन्न अवसर पारेर घुमाउन लैजाने, उपहार किनिदिने गरेका छन् । साभार नारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here