निजगढ,प्रहरी र वन सुरक्षाकर्मीको संयुक्त टोलीले सोमवार निजगढको छुट्टाछुट्टै स्थानबाट करिव ३ सय क्विफिट सालको काठ बरामद गरेको छ ।सब डिभिजन वन कार्यालय निजगढ, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी वेस क्याम्प निजगढबाट खटेको सुरक्षाकर्मीको संयुक्त टोलीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित वाक्यश्वर महादेव मन्दिर नजिक बकैया नदीको बगर र स्थानीयको केराबारीमा जमिनमुनि गाढेको अवस्थामा सो परिमाणको काठ बरामद गरेको हो ।विशेष सूचनाको आधारमा काठ बरामद गरिएको सब डिभिजन निजगढका प्रमुख रघुनाथ दासले जानकारी दिनुभयो । उहाँका अनुसार वाक्यश्वर महादेव मन्दिर नजिक बकैया खोलाको बगरबाट १२० क्विफिट सालको गोलिया, टुना र वडा नम्बर ९ को तेस्रो लाइन क्षेत्रको केराबारीमा गाढेर राखेको अवस्थामा घरको खामा साइजको २७ थान करिव १५० क्विफिट सालको काठ बरामद गरिएको हो । जेसिबीको प्रयोग गरेर जमिनमा गाढिएको काठ निकालिएको थियो ।केही समयअघि वन क्षेत्रबाट अवैध रुपमा चोरी कटान गरी लुकाएर राखेको अवस्थामा काठ बरामद गरिएको दासले जानकारी दिनुभयो । उहाँले अन्य क्षेत्रमा पनि अवैध रुपमा लुकाएर राखिएको काठ हुनसक्ने बताउदै आगामी दिनमा पनि खोजतलास जारी राखिने बताउनुभयो । बरामद काठ थप अनुसन्धानको लागि सब डिभिजन वन कार्यालय निजगढमा राखिएको छ ।

Leave a Reply