धनुषा, १० असोज
दसैँ सुरु भएसँगै जनकपुरधा मसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ ।

यति बेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक छाएको छ । जनकपुरधामका मठ मन्दिर र दसैँका लागि बनाइएका भव्य पन्डालमा प्रत्येक साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने गरेका छन् । मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ । यसको छुट्टै धार्मिक महत्व छ । यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ ।

मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडी भन्नुहुन्छ, दसैँका बेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्रको अनुष्ठान गर्छन् । र सर्वसाधारणको ज्यान लिन सक्ने खालको शक्ति प्राप्त गर्छन् । त्यसैले यस्तो शक्तिको प्रतिवाद गर्न अर्को तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना गरिने गरिएको जनविश्वास रहेको छ ।

घटस्थापनादेखि सुरु हुने भिझिया नृत्यको तयारी पनि विशेष हुन्छ । कापडीले यो नृत्य प्रारम्भ गर्न पूर्व तयारी गर्नुपर्नेबारे जानकारी दिँदै भन्नुभयो, एउटा वा दुईटा सफा घैँटो किनेर त्यसलाई सफासुग्घर गरी घैँटोभरि प्वाल बनाइन्छ ।

घैँटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । त्यसमा मट्टीतेल हालेर बालिन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । तर, टाउकामा राखी नृत्य गर्न ‘पूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ । बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा झिझियालाई मन्त्रसहित छेकबार गरिन्छ । मन्त्रिएपछि पाँचदेखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैँटो राखेर बिना हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् ।

ब्रह्मस्थानमा नृत्य गरे लगत्तै झिझिया औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घर घरमा गएर नृत्य देखाउने परम्परा रहेको छ । क्षीरेश्वरनाथ नगरपालिका ६ नयाँ टोलका पुरोहित इन्द्रकान्त झाका अनुसार झिझियामा भएको प्वाल तन्त्रमन्त्र गर्ने बोक्सी (डाइन)ले गन्न सफल भइहाले भने उनीहरू तन्त्र सिद्धि गरी निकै शक्तिशाली हुन सक्ने जनविश्वास छ । त्यसैले झिझिया टाउकोमा राखेपछि महिला निरन्तर नाच्छन् । नाच सक्ने वित्तिकै दियो निभाएर झिझिया राख्ने गरिन्छ ।

अवकास प्राप्त शिक्षक तथा मैथिली संस्कृति जानकार ८५ वर्षीय महेन्द्रनगरका रमापति चौधरी भन्नुहुन्छ, महिलाद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठानको रुपमा लिइन्छ । झिझिया नृत्य घटस्थापनादेखि सुरु भई दसैँसम्म प्रदर्शन गरिन्छ । गाउँघरमा भिझियामा १५–२० जनाको समूहले पारम्परिक वाद्यवादन ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन् ।

 

प्रत्येकको घर–घरमा गई सामूहिक नृत्य गर्ने र त्यहाँबाट घरधनीले कोसेलीस्वरूप पैसा वा चामल दाल सहयोग दिने चलन छ ।

तर अन्ध विश्वासभन्दा पनि सांस्कृतिक उत्थानका लागि यसको संरक्षण आवश्यक रहेको शिक्षा तथा संस्कृतिविद् चौधरी बताउनुहुन्छ । यो मिथिलाको लोक महत्वको नृत्य हो । त्यसैले यसलाई अन्धविश्वासका रूपमा लिनुहुँदैन । यो नृत्य सातौँं शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् ।

पछिल्लो समय यसको मौलिकता हराउँदै गएको स्थानीयवासी बताउँछन् । झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीर्घायुको कामना गरिएको हुन्छ । मिथिला नाट्य कला परिषद् मिनापले नेपाल भारतको विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिका रूपमा लिइने गरेको छ ।

मिनापले केही वर्षयता झिझियाको पाँच सय भन्दा बढी नृत्य प्रदर्शन गरेको छ । जनकपुरधामकै देवी चोकमा रहेका राजदेवी युवा क्लबले दसैँको बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ । दसैँकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुने गर्छ ।े

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here