बारा,नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्न फुटबलतर्फ भएको मधेस प्रदेश स्तरीय छनौट प्रतियोगिताको उपाधी बाराले जितेको छ ।

सर्लाहीको लालबन्दीमा सम्पन्न फाइनल खेलमा महोत्तरीलाई पराजित गर्दै बारा प्रदेश च्याम्पियन भएको हो । प्रदेश स्तरीय छनौट प्रतियोगिताको उपाधी उचाल्ने क्रममा बाराले महोत्तरीलाई ३(२ ले पराजित गरेको हो ।
बाराको जितमा उदित नारायण चौधरी, निरज थापा मगर र विवेक चौधरीले एक÷एक गरेका हुन् । महोत्तरीका लागि सञ्जिव चौधरी र कृष्ण रानाले गोल गरे । छनौट प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको पहिलो खेलमा पर्सा विरुद्ध २(१ को जित निकालेको बाराले सेमिफाइनलमा धनुषालाई ३(१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । विजेता र उपविजेता टिमलाई लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, युवा खेलकुद तथा सामाजिक विकास मन्त्रालयका उपसचिव ठुलोबाबु दाहाललगायतले पुरस्कार वितरण गरेका थिए ।



















