बारा,आपसी लेनदेनको विषयलाई मिटरब्याजीको झुटो मुद्दा लगाएको भन्दै आपत्ति जनाइएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ७ निवासी सोहनकुमार पिप्लेले स्थानीय व्यवसायी गोपालप्रसाद कलावारसँगको लेनदेनलाई मिटरब्याजीको आरोपमा प्रशासन गुहारेको भन्दै त्यसको विरोधमा कलवार पक्षले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

पछिल्लो समय मिटर ब्याजीविरुद्धको कारबाही प्रक्रियालाई कडाइ गरिरहेको जिल्ला प्रहरी कार्यालय बारासंग निष्पक्ष अनुसन्धानको माग गर्दै जीतपुरका व्यवसायी गोपालका दाजु कन्हैया गुप्ताले पत्रकार सम्मलेनको आयोजना गर्नुभएको हो । आफूमाथि मिटर ब्याजमा ऋण दिएको आरोपमा उजुरी परेपछि अनुसन्धान थालेको प्रहरीसंग निष्पक्ष रुपमा प्रमाण हेरेर मात्रै कारबाही प्रक्रिया अघि बढाउन गुप्ताले पत्रकार सम्मेलनमा माग गर्नु भएको छ ।

आरोपीका अनुसार मिति २०७० भदौमा पिप्लेले कलवारसँग १० प्रतिशत ब्याज लगाएर एक वर्षभित्रै तिर्ने गरी ६ लाख रुपैयाँ तमसुक कागज गरेर ऋण लिई होटल खोल्नुभएको थियो । पारिवारिक सम्बन्ध बनिसकेकोले २०७५ सालमा बुहारीसँग पनि ३ लाख रुपैयाँ लगेकोमा व्यापार राम्रो नभएको भन्दै समयमा नतिरेको अवस्थामा पिप्लेले आफ्नो होटेलका लागि आवश्‍यक मदिरा पनि कलवारकै पसलबाट लैजाने गर्नुभएको थियो ।

पिप्लेले समयमै पैसा नतिरेर लकडाउनलगत्तै दिएको चेक बाउन्स भएपछि कलवार पक्षले प्रहरी गुहारेको थियो । गत वैशाखमा इलाका प्रहरी कार्यालयको रोहबरमा जम्मा रु १७ लाखको हिसाब निकाली यही भदौ ९ गतेसम्ममा साँवा ब्याजसहित सबै तिर्ने मौखिक सहमति गरिएको थियो। तर ९ गते पिप्लेले दिएको चेक लिएर बैंक जाने र पैसा पाउने आशामा बसेका बेला त्यसअघि नै झुटो मुद्दा लगाएर कानुनको दुरुपयोग गरेको लगानीकर्ता गोपाल कलवारका भाइ कन्हैया गुप्ताले तर्क गर्नुभयो ।

२०७६ सालको मात्रै ४ लाख १९ हजार १५ रुपैयाँको मदिराको बिल देखाउँदै पिप्लेले मदिराको रकममध्ये २ लाख २५ हजार रुपैयाँ मात्र बुझाएको दाबी गर्दै अब रु.१५ लाख असुलउपर गर्न बाँकी रहेको गुप्ताले बताउनुभयो । आफूहरु विरुद्ध मिटरब्याजीको झुटो आरोप लगाएपछि बाध्य भएर पिप्लेउपर उच्च अदालत वीरगन्जमा मुद्दा दायर गरेको र २६ गते पेसी रहेको समेत उहाँले जानकारी दिनुभयो ।

मिटरब्याजी पीडितका कुरा प्रहरीले सुन्ने वातावरण बन्नु सराहनीय विषय भए पनि प्रहरी एकोहोरो हुन नहुने कन्हैयाको तर्क छ। तर जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले भने आरोप लगाएको जस्तो कुनै कार्य नभएको दाबी गर्नुभएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने मिटर ब्याजीको आरोपमा गोपालविरुद्ध उजुरी परेपछि अनुसन्धान अघि बढाएको बताउनुभएको छ । दुई पक्षबीचको लेनदेनका विषयमा छलफल गरेर कानुनसम्मत ढंगले अघि बढाउन खोज्दा प्रहरीमाथि निष्पक्ष छानबिन नगरेको भन्दै लगाएको आरोपप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उपरीक्षक बोगटीको भनाइ छ । ‘सबैका सामु कुरा भएको छ, त्यतिबेलै मैले तपाईं धेरै ठाउँ गुहार्नुभन्दा एक्लै आउनुभए पनि हामी कुरा सुन्छौं भनेको हुँ र गर्ने पनि त्यही हो ।’ बोगटीले बताउनुभयो ।

भाइ गोपाल उपचारका क्रममा भारतमा रहेका कारण पत्रकार सम्मेलनमा आफू आएको बताउदै गुप्ताले प्रहरी कार्यालयमा दिइएको उक्त उजुरीमा कुनै सत्यता नरहेकाले प्रमाणका आधारमा छानबिन गर्न र आफूहरुलाई न्याय दिलाउन माग गर्नुभएको छ ।

Leave a Reply