कृष्ण मोहन साह
सेढवा,नेपाली हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ठोरी गाउँपालिका वडा नम्बर १ मा आइतवारबाट तीज कप नकाउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
निर्मल समाज क्लब ठोरी १ को आयोजनामा भएको फुटबल प्रतियोगिताको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष श्रेष्ठले ठोरीको पहिलो रोजाइको खेल फुटबल रहेको बताउँदै यसको बिकासका लागि गाउँपालिकाले सहयोगको कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
खेल स्वास्थ्यसँग सम्बन्धित रहेको बताउँदै श्रेष्ठले आयोजकलाई सफलताको शुभकामना दिंदै खेलाडीहरुलाई खेलको नियम र अनुशासनमा रही खेल खेल्न अनुरोध गर्नुभयो ।
आइतवार भएको पहिलो खेलमा गोल्डेन युमिनेन्ट वसन्तपुरले निचुटा युथ क्लब निचुटालाई ६–० गोलान्तरले पराजित गरेको छ । २ आत्मघाती गोल व्येहोरेको निचुटालाई गोल्डेन युमिनेन्टका किशोर चौधरीले ३ र रितेश क्षेत्रीले १ गोल गरी फराकिलो गोलान्तरले पराजित गरेको थियो । खेलको म्यान अफ दी म्याच गोल्डेन युमिनेन्टका ह्याट्रिक गोलकर्ता किशोर चौधरी घोषित भए ।
दोस्रो खेलमा दिव्यज्योति युवा क्लब र आयोजक बी बीच भएको खेलमा आयोजक निर्मल समाज क्लबले दिव्यज्योति युवा क्लबलाई २–१ गोलान्तरले पराजित गरेको आयोजक समितिका अध्यक्ष जगेन्द्र पौडेलले जानकारी दिनुभयो । आयोजकका अनुप ठोकर र मन्दिप मगरले समान १÷१ गोल गरेका थिए भने दिव्यज्योति युवा क्लबका बिनोद मगरले सान्त्वना गोल गरेका थिए । दोस्रो खेलको म्यान अफ दी म्याच आयोजक निर्मल समाज क्लब बि का अनुप ठोकर घोषित भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
सोमवारको पहिलो खेल सहारा युवा क्लब र जनकल्याण युवा क्लब, दोस्रो खेल बागमोर्चा युवा क्लब र युनिक युनाइटेड तथा अन्तिम खेल बिमिरे युवा क्लब र सनराइज युवा क्लबबीच हुने समेत आयोजक समितिले जनाएको छ ।
पर्सा र चितवनको गरी २८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल १७ गते हुने छ । प्रतियोगितामा बिजयी टिमलाई नगद ५६ हजार १ सय, ट्रफी र प्रमाणपत्र तथा उपबिजेतालाई नगद ३१ हजार १ सय, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता उद्घाटन समारोहमा गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी, ठोरी गाउँपालिकाका ५ वटै वडाका वडाध्यक्षहरु, जिल्ला समन्वय समिति पर्साका पूर्वउपप्रमुख ठाकुरप्रसाद न्यौपाने, माओवादी केन्दका केन्द्रीय सदस्य टेकबहादुर शाक्य, पूर्ववडाध्यक्षहरु, पार्टी प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिलगायको बाक्लो उपस्थिति रहेको थियो । आयोजक समितिका अध्यक्ष जगेन्द्र पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहको सहजीकरण होमनाथ पौडेलले गर्नुभएको थियो ।



















