निजगढ – निजगढस्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले हिजोदेखि नगरका थप २ स्थानमा दुग्ध सङ्कलन केन्द्र संचालनमा ल्याएको छ । संस्थाले निजगढ ९ ठाडोलाईन स्थित क्याम्पस चोक र निजगढ ११ रतनपुरमा एकैसाथ दुग्ध सङ्कलन केन्द्र संचालनमा ल्याएको हो ।
बिहिबार बिहान निजगढ ९ ठाडोलाईन स्थित क्याम्पस चोकमा ७५ लिटर र रतनपुरमा १ सय लिटर किसानले उत्पादन गरेको गाई भैसीको दुध सङ्कलन गरिएको संस्थाका सचिव प्रकाश सापकोटाले जानकारी दिनुभयो । बिहिबारबाट थप २ स्थानमा दुग्ध सङ्कलन केन्द्र संचालन भएपछि संस्थाले निजगढमा संचालन गरेको शाखाको संख्या १० पुगेको छ । केही समयभित्र निजगढ नगरपालिकाका अन्य स्थानमा पनि शाखा खोल्ने तयारी भइरहेको संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरलले जानकारी दिनुभयो ।