दशैं अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ । वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृति अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानिक रहेका हुन्छन् ।

छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्मदेखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ । विहान उठ्ने बित्तिकै उदाउने सूर्य, झ्यालका कुनाकाप्चावाट छिर्ने तिनका प्रकाश, बोटविरुवालाई हुर्काउने सूर्य, बादल श्रृजना गर्ने सूर्य, न्यानो दिने सूर्य लगायत यस पृथ्वीमा सूर्यको भूमिका, मानव अनि सूर्यबीचको अन्योन्याश्रित सम्बन्धलाई हजार जिब्रोभएका शेष नागले पनि व्याख्या गर्न शायद् सक्दैनन् होला । तिहारको समापनसंगै छठ पर्वको हर्षेल्लाषमय वातावरणले सकल नेपाली भूमी पुलकित भएको छ । षष्ठी तिथिका दिन मनाइने भएकोले यस पर्वको नाम अपभ्रमसित हुँदै छठ भएको विश्वास छ ।

तराई क्षेत्र केन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलीत हुँदै आएको छ । सद्भाव अनि भातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारेर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबीच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लाली किरणलाई दुधको अर्घ्य दिएर यो चाड मनाइन्छ । छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनकालागि छिमेकीहरुले दिएका प्रसादहरु जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन छ ।

यसरी ल्याइएका फलफूलहरुलाई छठको अन्तिम दिन विहानै अर्घ्य स्वरुप उदाँउदो सूर्यलाई देखाएपछि प्रसाद स्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पुरा होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चली आएको छ । छठ विशुद्धरुपमा एउटा धार्मिक आस्थाको पर्व हो । र यसमा जनावर काटमार गर्ने या पशु बली भाकल गर्ने चलन छैन । यो वर्ष कोरोनाको कहरका बाबजुद पनि रौनक बढी देखिएको छ । तर जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र पर्व मनाउनु पर्ने हुन्छ । छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण पाठकबृन्दमा हार्दिक मंगलमय शुभकामना छ ।

 

Leave a Reply