निजगढ,नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विकास निर्माणका कार्यलाई जालझेल गरेर रोक्न नहुने बताउनु भएको छ । गृह जिल्ला रौतहटमा पार्टी कार्यक्रमा सहभागी भएर सिमरा फर्किने क्रममा निजगढमा मंगलबार पार्टी कार्यकर्ता र शुभचिन्तकहरुसंग कुरा गर्दै नेता नेपालले सो कुरा बताउनु भएको हो । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नैं बन्नेमा पनि आफू ढुक्क रहेको उहाले बताउनुभयो ।

आफु प्रधानमन्त्री हुदा हुदा निजगढ विमानस्थल निर्माणको कुरा जोडदार ढंगले उठाएको र कामको थालनी समेत भएको बताउदै नेपालले विभिन्न नाम र बाहानामा राष्ट्रिय गौरवको आयोजनालाई विवादित बनाउन नहुने तर्क राख्नु भयो । यसले मुलुकको विकासको गतिलाई दशकौंपछि धकेल्न सक्ने पनि बताउनुभयो ।
प्राविधिक टोलीको छनौटका कारण पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त हुने निष्र्कषका साथ सरकारले विमानस्थल निर्माणका लागि चार किल्ला घेर्ने, तटबन्ध गर्ने लगायतका कामको थालनी गरेको भएपनि मुख्य काममा ढिलाई भइरहेकोप्रति चिन्ता जाहेर गर्नु भयो । ‘हामी आफ्नोतर्फबाट छिटो भन्दा छिटो विमानस्थल बनाउनु पर्छ भनेर लागि परिरहेका छौ, नेता नेपालले भन्नुभयो, निर्माण कार्य थालनीमा दवाव दिन स्थानीयहरु पनि जागरुक हुनु पर्छ ।’
ओली नेतृत्वको सरकारले निजगढ विमानस्थलका लागि बजेट नछुट्याएर विकास विरोधी सावित भएको भन्दै पानी जहाज, रेलमार्ग जस्ता हावादारी कुरा उठाएर र जनताको बस्ती नैं उजाड बनाउनतर्फ अग्रसर भएको अध्यक्ष नेपालले बताउनुभयो ।
केपी ओलीको दम्भ, घमण्डका कारण एमाले धरासायी हुदै गइरहेको भन्नुहुदै ओलीको कार्यशैलीले कम्युनिष्टहरुलाई नैं बदनाम गरेकाले आफुहरुले विद्रोह गरी नया पार्टी निर्माण गरेको पनि बताउनुभयो ।
भेटघाट कार्यक्रममा शहिद हिरालाल पार्कको थप विकासका लागि पहल गरि दिन भन्दै पार्क विकास समितिका अध्यक्ष रमेश अर्यालले अध्यक्ष नेपाललाई ज्ञापन पत्र समेत बुझाउनुभएको थियो । निजगढस्थित होटल रुद्राक्षमा भएको कार्यक्रममा नेकपा एस केन्द्रीय सचिव नागेन्द्र चौधरी, पोलोटब्यूरो सदस्य सरला यादव, पोलिटव्युरो सदस्य रामकुमार भट्टराई, कन्द्रिीय सदस्य एंव बारा जिल्ला संयोजक छविलाल उप्रेती, निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुदर्शन बडाल, वडा सदस्य जगतबहादुर न्यौपाने, कार्यपालिका सदस्य पवन विक, अनिल भण्डारी, भिमसेन सापकोटा, दिपक सापकोटा, खमबहादुर श्रेष्ठ, जीतलाल श्रेष्ठ लगायतको सहभागिता थियो ।
‘गठबन्धनले मिलेर चुनाव लड्ने’
रौतहट,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताउनुभएको छ । तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने उहाँले बताउनुभयो ।
गृह जिल्ला रौतहट आउनुभएको नेता नेपालले मंगलबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिले अर्ली इलेक्शन आवश्यक नभएको बताउनुभयो । चुनावलाई कम खर्चिलो बनाउन तीनै तहको निर्वाचन एकै साथ गर्नेमा उहाँको जोड छ ।
अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका नेता नेपालले उनी निरंकुश र एकल शासन रुचाउने व्यक्ति भएको बताउनुभयो । उहाँले ओली प्रवृतिबाट देशलाई मुक्त गर्न जरुरी रहेको समेत धारणा राख्नुभएको छ ।



















