राजन कुमार बानिया
पोखरिया,वीरगन्ज महानगरपालिकाको आदर्शनगरबाट आइतबार सरकारी नम्बर प्लेटको एउटा मोटरसाइकल चोरी भएको छ । छिपहरमाई गाउँपालिकाको ना १ ब २१५६ नम्बको बजाज कम्पनीको पल्सर १५० सिसिको मोटरसाइकल चोरी भएको हो ।
गाउँपालिकाका कर्मचारी प्रसान्तकुमार गुप्ता कार्यालयको कामले वीरगन्ज गएको र आदर्शनगरमा पार्किङ्ग गरि राखेको बेला दिउसो ३ बजे मोटरसाइकल चोरी भएको हो । घटनाको जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराइएको गुप्ताले बताउनुभयो ।
यसैबीच पर्सा जिल्लामा पछिल्ला केहि दिनयता मोटरसाइल चोरीको घटना अत्याधिक बढेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामा एक हप्ताकै अवधीमा ८ वटा मोटरसाइकल चोरी भएको छ ।
प्रहरीको फितलो सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै एक हप्तामै चोरहरुले ८ वटा मोटरसाइकल चोरेका हुन् । भदौको अन्तिम हप्ता चोरहरुले पत्रकार संतोष साहको घरभित्र राखेको ना ४८ प ४९९५ नम्बरको सेतो रंगको बुलेट मोटर साइकल चोरेका थिए । चोरी भएको उक्त मोटरसाइकल प्रहरीले हालसम्म फेला पार्न सकेको छैन ।
पर्सा जिल्लामा गत आर्थिक वर्ष २०७७÷०७८ मा १ सय २९ वटा मोटरसाइकल चोरी भएको पर्सा प्रहरीको तथ्याङ्कले नै देखाएको छ । जुन आर्थिक वर्ष २०७६÷०७७ को भन्दा झण्डै दोब्बर हो ।
यस्तै चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ३१ वटा भन्दा बढि मोटरसाइकल चोरी भइसकेको छ । दिनहुँ मोटर साइकल चोरीको घटना बढी रहेको भए पनि पर्सा प्रहरी चोरहरुको सञ्जाल तोड्न असफल रहदै आएको छ । प्रहरीले राती गस्ती गर्न कम गरेको कारणले चोरहरु पछिल्लो समयमा घरभित्र राखेको मोटरसाइकल पनि चोरी गर्न थालेका हुन् ।
रातीको समयमा प्रहरीको चेकिङ्क नहुनु, बाटो र चोकहरुमा लगाइएको सिसिटिभि बिग्रनु, भित्री बाटोहरुमा रहेको विद्युत पोलको बत्ति पनि मर्मत नहुनु लगायतका कारण चोरहरु मोटर साइकल चोरी गर्न पल्केका हुन् ।