कलैया,बारामा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । शनिबार बिहानदेखि आइतबारसम्मको रिपोर्ट अनुसार विभिन्न अस्पतालमा सो संख्यामा संक्रमितको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । मृत्यु हुनेमा बाराको निजगढका ३ जना रहेका छन । निजगढ नगरपालिका वडा नंबर ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित आईसोलेसनमा उपचाररत १ जना संक्रमितको आइतबार बिहान मृत्यु भएको छ । आइतबार नै अर्का संकास्पद कोरोना संक्रमितको पनि प्राथमिक स्वास्थ्य केन्द्रमा नै मृत्यु भएको हो । यस्तै निजगढ नगरपालिका–७ का ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३० गते उपचारका लागि अस्पताल भर्ना भएका उनको शनिबार पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । उनी बैशाख ३० गते बिहिबारदेखि नारायणी अस्पताल वीरगन्जमा भर्ना भएका थिए । उनको बिहिबार स्वाब संकलन गरी आरटी पिसीआर परीक्षण गर्दा जेठ १ गते शनिबार पोजेटिभ रिपोर्ट आएको थियो । अस्पतालको आईसोलेसन वार्डमा राखि उपचार भईरहेकोमा उपचारको क्रममा उनको शनिबार नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यो संगै निजगढमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आइतबार मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२५ सिसहनिया बस्ने ३८ वर्षीया महिला छिन् । वैशाख २५ गते श्वासप्रश्वासमा समस्या देखिएपछि नारायणी अस्पतालमा भर्ना भई पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण देखिएको थियो । आइसोलेसन वार्डमा उपचारको क्रममा बिहान ४ः१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै बाराको सुवर्ण गाउँपालिका–२ कबहीदरबार बस्ने ६० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । वैशाख ३० गते बिरामी भइ नारायणी अस्पताल भर्ना भई सोही दिन गरिएको एन्टीजीन परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा आइतबार बिहान २ः१५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै बाराको प्रसौनी गाउँपालिका–५ प्रष्टोकाका ४५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या देखिएपछि वैशाख १९ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । दुईदिन पछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसन वार्डमा राखेर उपचार भईरहेकोकोमा शनिबार राति पौने ११ बजे उनको मृत्यु भएको थियो । बाराको प्रसौनी गाउँपालिका–५ बेलहिया प्रष्टोका बस्ने २५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या देखिएपछि वैशाख २६ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । वैशाख २९ गते पीसीआर परीक्षणका लागि स्वाब नमुना पठाइएको थियो । भोलिपल्ट पोजेटिभ रिपोर्ट आएपछि अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार चलिरहेको थियो । उपचारको क्रममा शनिबार बिहान ६ः१० बजे उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । बाराको कलैया उपमहानगरपालिका–४ बस्ने ६५ वर्षीय पुरुषलाई पनि बैशाख १५ गते श्वासप्रश्वासमा समस्या देखियो । उपचारका लागि नेशनल मेडिकल कलेजमा लगियो । दुई दिनपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । नेशनलले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालको वार्डमा उपचारको क्रममा आईतबार बिहान साढे १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाराको जीतपुरसिमरास्थित डाबर नेपाल कम्पनीमा कार्यरत ४३ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको छ । ज्वरो तथा श्वासप्रश्वासमा समस्य आई बैशाख १९ गते उनलाई वीरगन्ज हेल्थ केयर हस्पीटलमा भर्ना गरिएको थियो । बैशाख २३ गते पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाब नमुनाको रिपोर्ट दुई दिनपछि आउँदा पोजेटिभ आएको थियो । उपचार कै क्रममा दिउँसो पौने ३ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । बाराको परवानीपुर गाउँपालिका– १ बस्ने ५६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । वैशाख २७ गते श्वासप्रश्वास तथा ज्वरोको समस्या र पीसीआर पोजेटिभ रिपोर्ट सहित स्पर्स मल्टी स्पेस्यालिष्ट हस्पिटलमा भर्ना भएका थिए । आइसोलेसन वार्डमा उपचारको क्रममा शनिबार बिहान १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो संगै बारामा दोश्रो चरणको कोरोना संक्रमणबाट आइतवार बिहानसम्ममा ११ महिला र ४३ पुरुष गरी ५४ जनाको मृत्यु भएको छ । बारामा पहिलो चरणमा ७ महिला र २६ पुरुष गरि ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । पहिलो र दोश्रो चरण गरि बारामा ८७ जनाको संक्रमणबाट मृत्यृ भईसकेको छ ।

यसैबीच बारामा पछिल्लो २४ घण्टामा १६ महिला र ६२ जना पुरुष गरी ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुने २ जना प्रहरी कर्मचारी मध्ये १ जना कोरोना संक्रमणमुक्त भएका छन भने ५ जना प्रहरी अहिले पनि आइशोलेनशमा रहेको बताइएको छ । बारामा अहिले दुई सय ८० जना महिला र ७ सय ४३ पुरुष गरि एक हजार २३ जना सक्रिय कोरोना संक्रमित रहेका छन । ११ महिला र ३१ पुरुष गरी ४२ जना आइसोलेसनमा दुई सय ६९ महिला र ७ सय ५ पुरुष गरी ९ सय ७४ जना होम आइसोलेसनमा रहेका छन भने १२ महिला र ३१ पुरुष गरि ४३ जना कोरानाबाट निको भएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here