पुष्पराज खतिवडा

मनहर्वा,लाखौं रुपैया खर्चेर गरेको मेवा खेती बर्षाले नष्ट भएपछि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का किसान सन्चराम थिङ्ग यतिबेला चिन्तामा हुनु्हुन्छ । सन्चराम र उहाँका भतिजा तामबहादुर थिङ्गले ९ लाख भन्दा बढी खर्च गरेर आफनो धान खेतमा लगाएको उन्नत जातको मेवा गत हप्ताको बर्षामा मरेर नष्ट भएपछि दुबैजना किसान समस्यामा परेका हुन । उहाँहरुले १ बिगाह जमिनमा २ हजार ३ बोट मेवा खेती गर्नुभएको थियो । जीतपुरसिमरा वडा नम्बर १७ का वडा सदस्यसमेत रहनुभएका सन्चराम गाउँका अगुवा किसान मध्येमा पर्नुहुन्छ ।

‘प्राविधिकहरुले राम्रो आम्दान हुने बताएपछि, हौसिएर खेती गरेका थियौं, सन्चबहादुरले भन्नुभयो, तर फल्दैनफली सबै बोट मरेर नष्ट भएपछि ठुलो नोक्सानी बेहोर्नु पर्यो ।’ थिङ्गले स्थानीय एक सहकारी संस्थाबाट कर्जा लिएर भतिजसंग मिलेर उन्नत जातको बिउ खरिद गरेर ४ महिनाअघि रोप्नु भएको थियो । ‘रोपेको केही समयदेखि नै पानी पर्न थाल्यो, उहाँले भन्नुभयो, बिरुवा उम्रिएर राम्ररी फस्टाउन पनि पाएको थिएन, पछिल्लो पटक लगातरको बर्षापछि खेतमा पानी जमेर बोट नै मर्यो ।’ बर्षा रोकिएपछि लागेको चर्को घामबाट मेवाको बोट मरेको उहाँले सुनाउनुभयो । बिरुवा खरिद, ज्याला, खनजोत, मलखाद र सिंचायी समेत गर्दा ९ लाखभन्दा खर्च भएको उहाँले बताउनुभयो । किसानहरुले प्रतिगोटा १ सय ६० रुपैंया हालेर भारतमा उत्पादित बिउ खरिद गरेका हुन ।

बालीको बिमासमेत गर्न नभ्याएपछि किसानहरुले थप मार्का बेहोर्नु परेको बताएका छन । ‘बालीको बिमा गर्ने योजना बनाउदा बनाउदै कोराना भाईरस संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण भ्याइएन, अर्का किसान तामबहादुरले भन्नुभयो, धेरै फाइदा हुने देखेपछि हौसिएर खेती गरेका थियौं, अब उल्दै ऋणमा डुबिने भइयो ।’ बिमाको सबै कागजपत्र तयार पारिसकेर पनि बिमा गर्न नभ्याइएको उहाँले बताउनुभयो । ‘खेतमा न मकै रोप्न पाइयो, न मेवा नै फल्यो, उहाँले भन्नुभयो, अब परिवार कसरी पाल्ने होला भन्ने चिन्ताले सताउन थालेको छ ।’

जीतपुरसिमरा उपमहानगरलिकाको कृषि शाखाकी कृषि प्राविधिक राधिका भारतीले जोखिम ख्याल गर्न नसक्दा थिङ्गका काका भतिजाले मेवा खेतीमा नोक्सानी बेहोर्नु परेको बताउनुहुन्छ । ‘ठुलो लगानीमा खेति गर्दा जोखिम सुरक्षाको लागि बिमा लगायत अन्य पक्षमा पनि ध्यान दिन जरुरी छ ।’ त्यसमाथि मेवा जस्तो शंवेदनशील बालीमा पानी निकासको उचित प्रवन्ध गरेर मात्रै खेती गर्नु पर्ने उहाँको भनाइ छ । मेवाको बिरुवमा पानी जमेपछि जरा कुहिने रोग लागरे बोट मर्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here