कृष्णउदास खनाल
वीरगन्ज, बैशाख महिना अन्तिम अन्तिम हुँदैछ,वीरगन्जमा गर्मी बढ्नु पर्ने हो तर बेला बेलामा पानी परिरहेका कारण शीतल नै छ तर वीरगन्जको माहौल बैशाख लागेपछि भने ज्यादे नराम्रोसँग बिग्रिएको छ,कोरोनाले अस्तब्यस्त बनाउदैछ वीरगन्जलाई । अनि वीरगन्जको नारायणी अस्पताल मानौं,जहाँ निर्दोष आत्माहरु बिना कारण मारिदैछन् । कसैले उनीहरुको चित्कार सुन्दैन । अस्पतालमा डाक्टरदेखि नर्स अहोरात खटिएका छन् । तैपनि बचाउन सकिरहेका छैनन् ।
आँखा अगाडि बिरामीको मृत्युवरण गरेको दृष्यले रातमा धेरै पटक डाक्टर सरोजरोशन दास निदाउन सक्नु भएको छैन । नारायणी अस्पतालका कोभिड कोर्डिनेटर समेत रहनु भएका दास संक्रमितहरुको सेवामा दिनरात नभनी खटिनुभएको छ । आँखा अगाडि हर संभव गर्दा समेत बिरामी बचाउन नपाउदा मुटु कयौं पटक गाँठो परेको उहाँले अनुभव सुनाउनुभयो । मृत्यु कसैकोनहास् तैपनि भर्खरका उमेरमा ब्यक्तिहरुको कोभिडका कारण निधन भएको दृष्यले पटक पटक उहाँलाई कोभिड केही होइन भन्नै लाग्दै लाग्दैन बरु सर्तक र सचेत हुनुपर्नेमा उहाँको सुझाव छ । अर्का डाक्टर नीरज सिंहको पनि आँखा नरसाएको क्षण प्रायः कमै हुन्छ । अन्तिम अवस्था भएपछि अस्पतालमा बिरामी ल्याइएका कारण पनि बचाउन कयौं प्रयास गरेपनि सफल नभएको उहाँको अनुभव छ । धेरै पटक उहाँको पनि मुटु भक्कानिएको छ ।
उसो त वीरगन्ज गएको बर्ष पनि कोरोनाबाट आजित थियो । त्यत्तिबेला देखि नै संबmमितको साथमा रहेर उनीहरुको चर्कीरहेको घाउँमा मलम पट्टी लगाउन सफल भएकी नारायणी अस्पतालकै नर्स अहेमा थापाको पीडा झन् काहालीलाग्दो छ । आफ्नै आँखा अगाडि अन्तिम प्रयास गर्दा पनि बचाउन नसक्दा आफ्नै परिवारका सदस्य गुमाएको जस्तो पीडा उहाँलाई हुने गर्दछ । आफू कतिबेला संक्रमित हुने हो कुनै ठेकान छैन । उहाँसंगैका केही नर्स संक्रमित भइसकेका छ्रन् तैपनि सेवा गर्न नछाडेको उहाँले बताउनुभयो । संक्रमितको पीडामा मलम लगाउन पाउदा आफूहरुलाई एकदमै आनन्द आउने भएपनि आँखै अगाडि मृत्युवरणको दृष्यले उहाँलाई सुत्न दिउकै छैन कयौं रात ।
काहालीलाग्दो मृतकको संख्या
वीरगन्जको नारायणी अस्पतालमा पर्सा सहित बारा र रौतहट तथा प्रदेश २का बिभिन्न जिल्लाका संक्रमितहरुलाई उपचारका लागि ल्याउने गरिन्छ ।कोरोनाको दोश्रो लहर शुरु भएदेखि बैशाख २७ गते दिउँसोसम्म वीरगन्जको नारायणी अस्पताल र यहाँका अन्य अस्पतालमा गरेर ६७ जनाको मृत्यु भएको तथ्यांक जिल्ला प्रशासन कार्यालय पर्सामा छ । यहाँ दैनिक नागरिकहरुको मृत्यु भइरहेको छ । कोरोना बढेको भन्दै स्थानीय प्रशासनले गत बैशाख १६ गतेबाट लगाएको निशेधाज्ञा पनि जारी छ यद्यपी जिल्लामा संक्रमित बढेको बढ्यै छन् । सोमबार बैशाख २७ गतेसम्म पर्सामा १७ सय सकृय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन बिनय श्रीवास्तवले बताउनुभयो । कोरोनाको यो कहरमा आफ्नो घर परिवारलाई समेत बिर्सन बाध्य भएर जीवन बचाउन लागिपरेका स्वासथ्यहर्मीहरु भर्खर सार्वजनिक भएको गीतमा भने झैं ‘बन्दै निडर हरेक प्रहर, गर्दै आफ्नो काम,तिमीलाई हाम्रो सलाम ’ निको भएका संक्रमितहरुले प्रसंशा गरेका छन् ।