सिम्रौनगढ, १९ साउन– सिम्रौनगढ नगरपालिका वडा नम्बर–१० देवापुरटेटामा लामुखुट्टे धपाउन गोठमा बालेको धुनी सल्केर घरमासमेत आगलागी हुँदा लाखौंको धनमाल जलेर क्षेति भएको छ ।
लामखुट्टे धपाउन भनेर भैसी गोठमा बालेको धुनीको आगो सल्केर स्थानीय लक्ष्मणप्रसाद यादवको घर÷गोठ जलेर नष्ट भएको हो । धुनी सल्केर शनिबार राति १२ बजेतिर घरमासमेत आगलागी भएको यादवले जानकारी दिनुभयो ।
आगलागीबाट गोठमा बाँधिएका ३ भैसी मर्नुकासाथै घरमा रहेको लत्ताकपडा, फर्निचरसमेत जलेर नष्ट भएको छ । आगलागीबाट ५ लाख भन्दा बढी धनमालको क्षेति भएको यादवले जानकारी दिनुभयो ।
आगलागीले आफनो भएको सबै श्रीसम्पति नष्ट भएको यादवले बताउनुभयो । यादवले दुध उत्पादन र बिक्री गर्न ऋण काढेर भैसी पाल्दै आएका थिए ।
सम्पतिको नाममा रहेको भैसी नै जलेर मरेपछि आफुमाथि बज्रपात परेको उहाँले सुनाउनुभयो । आइतबार बिहिान पुगेका स्थानीय जनप्रतिनिधि र ईलाका प्रहरी कार्यलय सिम्रौनगढको प्रहरीले क्षेतिको विवरण संकलन गरेको छ ।