Rabi Lamichhane addressing election rally in Hetauda about corruption investigation

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले रास्वपाको सरकार बनेपछि विसं २०४६ सालपछि भएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने दाबी गरेका छन् ।

सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले फागुन २१ पछि गठन हुने रास्वपा सरकारले देशमा भएका ठुला भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने स्पष्ट पारे । त्यसका लागि देशभरबाट रास्वपाका उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता औँल्याउँदै उनले मतदातालाई सही निर्णय गर्न आग्रह गरे ।

‘देशमा भएका ठुला भ्रष्टाचारका फाइल खोल्न रास्वपाको सरकार बन्नपर्छ,’ उनले भने, ‘निर्णय र फैसलाको दिन फागुन २१ गते नै हो । तपाईँहरूले गर्ने निर्णयले नै देशको भविष्य निर्धारण गर्नेछ । रास्वपा सरकारले निष्पक्ष रूपमा छानबिन गर्छ ।’

जेनजी आन्दोलनको क्रममा तत्कालीन नेपाली कांग्रेस का सभापति शेरबहादुर देउवा को निवासमा जलेको पैसाको प्रसङ्ग उल्लेख गर्दै लामिछानेले त्यसलाई अकाट्य प्रमाण को रूपमा प्रस्तुत गरे ।

लामिछानेले विसं २०४६ सालपछि भएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने र विदेशमा लुकाइएको सम्पत्तिसमेत खोजी गरिने दाबी गरे । निर्वाचन मिति सार्ने चर्चा चलिरहेको सन्दर्भमा उनले कुनै पनि बहानामा चुनाव नरोकिने स्पष्ट पारे ।

‘लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण कुरा जनताको मत हो,’ उनले भने, ‘जनता मत हाल्न तयार छन् । कुनै पनि दलले निहुँ खोज्ने काम गर्नु हुँदैन । रास्वपाले जस्तोसुकै मत परिणाम आए पनि स्वीकार गर्छ—एक नम्बर आए एक नम्बर, शून्य आए शून्य, हामीलाई स्वीकार्य छ ।’

Leave a Reply