वीरगञ्ज,वीरगञ्ज– १० आदर्शनगरमा सोमबार बिहान ट्रान्सपोर्टको गोदाममा छापा हान्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।आदर्शनगरस्थित मदन गुप्ताको घर भाडामा लिएर विनोद साहले सञ्चालन गरेको सबिता ट्रेडर्स नामक गोदाममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा बल वीरगञ्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा गएको टोलीले सोमबार बिहान छापा मारेको थियो ।

छापाका क्रममा भन्सार राजश्व छली गरी भित्र्याइएको करिब १२ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको साडी लगायतका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।गोदाममा खानतलासी गर्ने क्रममा स्थानीय ट्रान्सपोर्ट व्यवसायी र उनका कर्मचारीहरूको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । झडपका क्रममा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्र प्रहरीका दुई वटा गाडीमा तोडफोड समेत भएको बताइएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार साँझसम्म तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार आदर्शनगरस्थित जय माँ दुर्गे ट्रान्सपोर्टमा कार्यरत प्रितम तिवारी, शिवचन्द साह र गुन्जन सर्राफलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको हो ।

तर, ट्रान्सपोर्टका सञ्चालक मदनप्रसाद गुप्ताले भने आफ्ना तीन जना कर्मचारी घटनामा संलग्न नरहेको दाबी गर्दै प्रहरीले निर्दोष कर्मचारीलाई पक्राउ गरेको आरोप लगाउनुभएको छ ।
यता वडा प्रहरी कार्यालय बीर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदीले घटनाबारे थप अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया जारी रहेको जानकारी दिनुभयो ।प्रहरीका अनुसार राजश्व छलीका सामान ट्रान्सपोर्टको गोदाममा भण्डारण गरिएको सूचनाका आधारमा सशस्त्र प्रहरी दुई वटा गाडीमा आदर्शनगर पुगेको थियो । खानतलासी प्रक्रिया सुरु गर्न खोज्दा व्यवसायीहरूले आफूहरूसँग बिलबिजक रहेको दाबी गर्दै सशस्त्र प्रहरीले अनावश्यक दुःख दिएको भन्दै विवाद गरेका थिए । सोही क्रममा सशस्त्र प्रहरीले गोदामको ढोकाको ताला फुटाउन खोज्दा व्यवसायीहरूले प्रतिवाद गरेपछि झडप भएको जनाइएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्रीले गोदामबाट भन्सार राजश्व छलीका कपडा बरामद गरिएको पुष्टि गर्दै झडपमा घाइते भएका तीनै जना सशस्त्र प्रहरीको उपचारपछि ब्यारेक फर्किएको जानकारी दिनुभयो ।

Leave a Reply