राजन कुमार बानिया
पोखरिया,पर्सा जिल्लाको पटेर्वासुगौली र जिराभवानी गाउँपालिकामा एकै दिन दुई वटा कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गरेर हस्तान्तरण गरिएको छ ।आधुनिक मोडेलमा निर्माण गरिएका दुवै सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन कृषि तथा पशुपन्छी मन्त्री डा. मदनप्रसाद परियारले फिता काटेर गर्नुभएको हो । छुट्टाछुट्टै कार्यक्रमबीच उद्घाटन सम्पन्न भएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय किसान तथा पशुपालकहरूलाई सेवा लिन सहज हुने बताउनुभयो । पहिला गाउँपालिका मन्दिरको भवनमा सञ्चालन भइरहेको स्मरण गर्दै अहिले आफ्नै प्रशासनिक भवन नजिक आधुनिक सेवा केन्द्र निर्माण हुनु खुशीको विषय भएको उहाँको भनाइ थियो ।
मन्त्री परियारका अनुसार नेपालका ६ प्रदेशका १७१ पालिकामा यो योजना रहे पनि हालसम्म ७४ वटा पालिकामा मात्र निर्माण सम्पन्न भएको छ, जसमा पटेर्वासुगौली र जिराभवानी गाउँपालिका पनि समावेश छन् ।नवनिर्मित भवनमा पशु उपचारका लागि औषधि, शल्यक्रिया उपकरण, माटो परीक्षण सेवा, कृषि औजार तथा बीउ–बिजन (प्रमर्स) को व्यवस्था गरिएको छ । “यस क्षेत्रको समग्र विकासका लागि म सधैं तयार छु,” मन्त्री परियारले भन्नुभयो । गाउँपालिका अध्यक्षहरूको सक्रियताले विकास निर्माणका कामले गति लिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
करिब साढे दुई करोड रुपैयाँको लागतमा दुई तले कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन निर्माण गरिएको कृषि तथा पशुपन्छी केन्द्रीय निर्देशक डा. चन्द्र रिजालले जानकारी दिनुभयो ।
पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री परियारकी धर्मपत्नी कल्पना परियार, केन्द्रीय निर्देशक डा. चन्द्र रिजाल, बर्दिबासका चिफ राजेश साह, परवानीपुरस्थित कृषि अनुसन्धान केन्द्रका निर्देशक डा. विशेष्वर प्रसाद यादव, गाउँपालिका उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा उत्कृष्ट किसान तथा पशुपालकहरूलाई घाँस काट्ने मेसिन र कृषि मोटर प्रदान गरी सम्मान गरिएको थियो ।त्यसैगरी, जिराभवानी गाउँपालिकामा पनि नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवनको उद्घाटन तथा हस्तान्तरण मन्त्री परियारले गर्नुभएको हो । जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडा अध्यक्षहरू सुरुज राय थारु, महादेव महतो, दारा सिंह, राजेश्वर थारु, रामसरण खवास लगायतको सहभागिता रहेको थियो ।


















