मनोज शाह
जीतपुर,बाराको जीतपुरसिमरा– १ स्थित हुलास स्टील इन्डस्ट्रिज लिमिटेडमा करारमा कार्यरत २ जना मजदूरलाई कामबाट हटाइएको विषयलाई लिएर मजदूरले शुरु गरेको आन्दोलन कारखाना व्यवस्थापन पक्षसंग सहमतिपछि साम्य भएको छ ।
कारखाना व्यवस्थापन पक्षले मंगलवार बिहान करारमा कार्यरत २ जना मजदूरलाई निष्कासन गरेपछि मजदूरहरु आन्दोलित बनेका थिए । आफ्ना सार्थीहरुको पुर्नवहालीको माग गर्दै २ सयभन्दा बढी मजदूरले कारखानाको मुख्य प्रशासन कक्ष घेराउ गरेका थिए ।

कारखानाका प्रशासन प्रमुख रविन्द्र पण्डितले दुई जना मजदूरलाई हटाएको विषयलाई लिएर उत्पन्न विवाद सहभतिपछि अन्त्य भएको बताउनुभयो ।

उहाँले निष्कासित मजदूरको पुनर्बहालीका लागि प्रधान कार्यालयसँग पत्राचार तथा समन्वय गर्ने, ३० जना कामदारलाई नियमित काममा लगाउने र थप ३० जना कामदारलाई दैनिक ज्यालादारीमा काम दिने सहमति भएको उहाँले जानकारी दिनुभयो ।तीन बुँदे सहमतिसँगै उद्योगमा उत्पन्न असहज अवस्था सामान्य बनेको प्रशासनले जनाएको छ ।मजदूरहरुको माग पूरा गर्ने विषयमा कम्पनीको ट्रेड युनियन अध्यक्ष प्रदीप गिरी, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशी लगायत सरोकारवालाबीच छलफल गरिएको थियो । सहमतिपछि मजदूरहरु काममा फर्किएको उद्योग व्यवस्थापन पक्षले जनाएको छ ।

Leave a Reply