वीरगंज, ७ असोज । मुलुकको प्रमुख वाणिज्यिक नाका वीरगंज हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा मात्रै २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल सो अवधिमा आयात भएका हुन् ।
भन्सार तथ्यांकअनुसार, गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा यस वर्ष सो अवधिमा एक अर्ब ७६ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । आयात वृद्धि भएसँगै राजस्व संकलनमा समेत वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । उनका अनुसार, चालु आवको दुई महिनामा मात्रै पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आवको दुई महिनामा पेट्रोलियम पदार्थ आयातबाट नौ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन भएकोमा यस आवमा सो रकम एक अर्ब २९ करोडले बढेर ११ अर्ब १८ करोड पुगेको छ ।
‘वीरगंज भन्सारको राजस्व संकलनको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो,’ प्रमुख प्रशासक ज्ञवालीले बताए ।
डिजेल आयात, चालु आव (२ महिना): मूल्य: ११ अर्ब ९१ करोड, मात्रा: एक लाख ३२ हजार ८२४ किलोलिटर, राजस्व : पाँच अर्ब २८ करोड, गत आव )२ महिना): मूल्य: १० अर्ब ४५ करोड, राजस्व: चार अर्ब ५१ करोडको डिजेल आयात मूल्य र राजस्व दुवैमा वृद्धि भएको तथ्यांकले देखाउँछ ।
चालु आव (२ महिना): मूल्य: ६ अर्ब ८२ करोड, मात्रा: ८० हजार ५६० किलोलिटर, राजस्व: चार अर्ब ५४ करोड, गत आव (२ महिना): मूल्य: ६ अर्ब ४० करोड, मात्रा: ६९ हजार ६४७ किलोलिटर, राजस्व: तीन अर्ब ९९ करोड, पेट्रोल आयात पनि मूल्य, मात्रा र राजस्व—सबै पक्षमा वृद्धि भएको छ ।
चालु आव (२ महिना): मूल्य : पाँच अर्ब १२ करोड, मात्रा: चार करोड ९५ लाख ६६ हजार ६६४ किलो, राजस्व: ९६ करोड, गत आव (२ महिना): मूल्य: पाँच अर्ब ३६ करोड, मात्रा: चार करोड ९७ लाख ५५ हजार १९४ किलो, राजस्व: एक अर्ब एलपी ग्यास आयातको मूल्य र मात्रा घटे पनि राजस्व संकलन भने गत वर्षको तुलनामा केही कम भएको छ ।
पेट्रोलियम पदार्थ आयात र राजस्व संकलन दुवैमा वृद्धि हुनु देशको ऊर्जा खपत उच्च गतिमा बढिरहेको प्रमाण हो । डिजेल र पेट्रोल जस्ता इन्धन सवारीसाधन तथा उद्योगमा बढी प्रयोग हुने भएकाले यसको आयातमा निरन्तर वृद्धि भइरहेको भन्सार अधिकारीहरूले जनाएका छन् ।
वीरगंज नाका नेपालमा पेट्रोलियम पदार्थ आयातको प्रमुख मार्ग हो । भारतको कोलकाता–हल्दिया बन्दरगाह हुँदै आउने इन्धन नेपाल आयल निगममार्फत वीरगंज भन्सारमार्ग प्रयोग गरी नेपाल भित्रिने गर्छ ।