सिमरा,आन्तरिक राजश्व कार्यालय सिमरा, बारा यतिखेर आगलागीका कारण खण्डहरमा परिणत बनेको छ ।
गत भदौ २४ गते नयाँ पुस्ता जेनजीहरुको आन्दोलनको नाममा केही अपराधिक र अराजक समुहले आगजनी गरेपछि कार्यालय खण्डहरमा परिणत भएको हो ।

आन्दोलनकारीहरुले आगलागि र तोडफोडबाट आन्तरिक राजस्व कार्यालय बारा सिमराको नया भवन उद्घाटन नहुँदै क्षतीग्रस्त बनेको छ । करिब ८ करोडको लागतमा नव निर्मित भवन भर्खरै सम्पन्न भएर सेवा प्रारम्भ गरेको आधुनिक भवन हो । यो भवन उद्घाटन समेत हुन पाएको थिएन ।

यो कार्यालयबाट बारा जिल्ला र रौतहट जिल्लाका करदाताहरुले सेवा लिदैआएका छन । आन्दोलनका क्रममा भएको आगजनी र तोडफोटबाट कार्यालयमा रहेको सम्पुर्ण कागजपत्र, फर्निचर, कम्प्युटर, ल्यापटप,एसी र फ्रिज समेत तोडफोड लुटपाट, र आगजनीका कारण सवै नष्ट भएका छन् ।

कार्यालय प्रमुख दिनेश पाण्डेले सम्पूर्ण भौतिक सम्पत्ति जलेर नष्ट भए पनि करदाताले तिनुपर्ने कर अनलाइन प्रणालीमार्फत सुरक्षित रहेको भन्दै कुनै पनि करदाताले करबाट छुट नपाउने बताउनुभएको छ ।प्रमुख पाण्डेले भन्नुभयो “हामी भग्नावशेषमै नयाँ सङ्कल्पका साथ काम सुरु गर्नेछौं,“ भवनमा दुई दिनसम्म आगो बलिरहँदा ढलान खसेको, पिल्लर चर्किएको र सम्पूर्ण संरचना प्रयोगयोग्य नरहेको प्रारम्भिक मूल्याङ्कन देखिएको छ ।

कार्यालयले भवनको प्राविधिक क्षति मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको बताउनुभयो । भदौ २४ गते दिउँसो सामान्य तोडफोडपछि साँझ ७ बजे हतियारसहित आएको समूहले योजनाबद्ध ढंगले कागजपत्र खोजतलास गरेर जलाएको राजश्वका कर्मचारीहरूले बताएका छन् ।

“फाइल भण्डारण कक्ष र प्रमुखको कोठा लक्षित रूपमा तोडफोड हुनु ठूलो गिरोहको संलग्नता रहेको प्रमाण हो,“ प्रमुख पाण्डेको भनाई छ । मन्त्रालय र विभागबाट उपलब्ध साधनस्रोत प्रयोग गरेर तत्काल सेवा सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख पाण्डेले बताउनुभयो ।उहाँले करदातालाई अनलाइन प्रणालीमार्फत सेवा लिन आग्रह गरिएको छ । कार्यालयले त्रिपालमुनी बसेर भएपनि सेवाग्रहीहरुलाई आंसिक रुपमा सेवा दिईरहेको छ ।सार्वजनिक सम्पत्तिमाथि अराजक ढंगले आक्रमण गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने प्रमुख पाण्डेले जनाउनुभयो ।

Leave a Reply