कलैया,
बाराका पालिकाहरूमा ६ अर्ब ४० करोड ७५ लाख रुपैयाँ बेरुजु रहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को प्रतिवेदनमा बाराका १६ वटा पालिकामा ६ अर्ब ४० करोड ७५ लाख रुपैयाँ बेरुजु रहेको उल्लेख छ ।
जिल्लाका १६ स्थानीय तह मध्ये सबैभन्दा बढी बेरुजु जीतपुरसिमरा उपमहानगरपालिकाको रहेको छ भने परवानीपुर गाउँपालिकामा सबैभन्दा कम बेरुजु रहेको छ ।बेरुजु देखिएका सबै पालिकाहरूमाप्रक्रिया नपु¥याइ गरिएका खर्च, पेश्की लिएको रकम समयमै फछ्र्यौट नभएको, कर्मचारीको खर्चमा अनियमितता, आर्थिक व्यवस्थापन गर्ने निकायकै मनोमानी खर्चलगायतका विषय प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक भएको प्रतिवेदनमा जीतपुरसिमरा उपमहानगरको ९० करोड ३२ लाख रुपैयाँ, कलैया उपमहानगरपालिकाको ७३ करोड ५८ लाख, कोल्हबी नगरपालिका ८५ करोड ८ लाख, निजगढ नगरपालिकाको ७३ करोड ४१ लाख, सिम्रौनगढ नगरपालिका ५३ करोड ४७ लाख, पचरौता नगरपालिका ३२ करोड १३ लाख, महागढीमाई नगरपालिका ४१ करोड ७४ लाख रुपैयाँ बेरुजु रहेको छ ।
त्यसैगरी सुवर्ण गाउँपालिकाको ३२ करोड २५ लाख, बारागढी गाउँपालिकाको १२ करोड ५८ लाख, फेटा गाउँपालिकाको ३२ करोड ५६ लाख, प्रसौनी गाउँपालिकाको २१ करोड ६१ लाख, देवताल गाउँपालिकाको १८ करोड ३४ लाख, करैयामाई गाउँपालिकाको २९ करोड ४९ लाख, आर्दश कोतवाल गाउँपालिकाको २० करोड १० लाख र सबैभन्दा कम परवानीपुर गाउँपालिकामा ८ करोड १९ लाख रुपैयाँ बेरुजु देखिएको छ ।स्थानीय सरकार सञ्चालन ऐनले बेरुजु फस्र्यौट गर्ने-गराउने सम्बन्धित पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई भनिए पनि उनीहरूले बेरुजु असुलीमा तदारुकता देखाएको पाइँदैन । कतिपय पालिका निमित्तका भरमा वर्षाैंदेखि चलिआएको तथा सरुवा भई आएका अधिकृतसमेत समय अवधि नपुग्दै पालिका छाड्ने प्रचलन जस्तै बनेपछि बेरुजु उठ्न नसकी प्रत्येक वर्ष उच्च बन्दै गएको हो ।
जीतपुरसिमरा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले उपमहानगरको बेरुजु घटाउन आर्थिक वर्षको सुरुवातसँगै उच्च प्राथमिकताका साथ लाग्ने र यसअघि बेरुजु उठाउने सम्बन्धमा भएका प्रयासभन्दा अझै बढी प्रभावकारी ढंगले प्रयास थालिने बताउनुभएको छ ।महालेखाले सार्वजनिक गर्ने प्रतिवेदनमा प्रत्येक वर्ष बढ्दै गएको जीतपुरसिमरा उपमहानगरका उपमेयर भोला अधिकारीले सक्दो बेरुजु बढ्न नदिन आर्थिक प्रशासन र कार्यपालिकाबाट निर्देशन गरिएको र सुधारको लयमा फर्काउन उपमहानगरले भरपुर प्रयास गर्ने बताउनुभयो ।



















