रौतहट– रौतहटको कटहरिया नगरपालिकामा विवाहको ६ महिना नपुग्दै एकजना महिलाको शङ्कास्पद मृत्यु भएको छ। घटना शंकास्पद भन्दै मृतकको माइती पक्षले दाइजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कारबाहीको माग गरेको छ ।

कटहरिया नगरपालिका ३ बड़ेरवा टोलमा घर भई हाल कटहरिया ५ बस्ने अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको हो । आइतवार दिउँसो आफ्नै घरको कोठामा सिलिङ फ्यानमा साडीको पासोमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको प्रहरीले जनाएको छ।घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोली घटनास्थलमा पुगेर घटनास्थल मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।

मृतकको पोष्टमार्टम भएर शव सतगतको लागि मृतक सानियाका आमा कायमा खातुनले बुझेर लागेको प्रहरीले जनाएको छ।मृतककी आमाका अनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमानसँग मुस्लिम परम्परा अनुसार भएको थियो । उहाँका अनुसार विवाहपछि ज्वाइँले दाइजोको लागि सानियालाई अनेक प्रकारको शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए । ज्वाइँ तथा उनको परिवारले योजनाबद्ध तरिकाले सानियाको हत्या गरी आत्महत्या देखाउन खोजेको कायमाले दाबी गर्नुभएको छ ।घटनामा संलग्न अरमानसहित सबैलाई पक्राउ गरी कडा कारबाहीको माग सानियाको माइती पक्षले गरेको छ। माइती पक्षले छोरीको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटना विरुद्धको जाहेरी हालसम्म दर्ता नभएको तथा घटना शंकास्पद भएको संकेत दिनुभएको छ ।उहाँले पोष्टमार्टम रिपोर्ट र घटनाको अनुसन्धानपछि मात्र मृत्युको कारण यकिनका साथ भन्न सकिने र सोहीअनुसार कानुनी कारबाही अगाडि बढाइने बताउनुभएको छ ।

Leave a Reply