निजगढ,बाराको निजगढकी साहित्यिक श्रष्टा सरु बस्नेत ‘छन्द बचाऊँ वाचनकला पुरस्कार’ बाट पोखरामा सम्मानित हुनुभएको छ ।माधव वियोगी वाङ्मय प्रतिष्ठान पोखराले आयोजना गरेको कृति लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रममा निजगढ ७ की बस्नेतलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले नगद १५ हजारसहित दोसल्ला र सम्मानपत्र सम्मान गर्नुभएको थियो । बस्नेतको रोशनी गजल संग्रह प्रकाशित छ भने उहाँ छन्द रचना बाचनमा समेत परिचित हुनुहुन्छ । सोही कार्यक्रममा प्रतिष्ठानले साहित्यकार भानुभक्त कुभिण्डेलीलाई ‘अग्निविष्णु छन्द साधना पुरस्कार’ प्रदान गरेको थियो ।
कार्यक्रममा साहित्यकारत्रय माधव वियोगीको ‘काव्यतपसी’ (महाकाव्य), भानुभक्त कुभिण्डेलीको ‘छन्दनायक’ (महाकाव्य) र नारायणप्रसाद बरालको ‘सपना र स्वर्ग’ (कविता संग्रह) लोकार्पण गरिएको थियोे ।कार्यक्रममा छन्दनायक तथा महाकाव्यकार माधव वियोगी, प्राडा कुसुमाकर न्यौपाने, साहित्यकार असफल गौतम, स्रष्टा भानुभक्त कुभिण्डेली, सरु बस्नेत, स्रष्टा नारायणप्रसाद बराल, साहित्यकार लक्ष्मण थापा, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलालगायतको सहभागिता थियो । प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख संरक्षक सरिता घिमिरेले स्वागत र सचिव शिव त्रिपाठीले सञ्चालन गर्नुभएको थियो ।



















