सिमरा,नेपाल प्रिमियर लिग (एनपीएल) विजेता जनकपुर बोल्ट्सका खेलाडी अनिलकुमार साह र अरनिको यादवलाई पचरौता नगरपालिकाले सम्मान गरेको छ । नगर प्रमुख जलन्धर सिंहले खेलाडी अनिल र अरनिकोलाई जनही ५० हजारसहित सम्मान गर्नुभएको हो ।अनिल बाराको कलैया र अरनिको पचरौता नगरपालिकाका बासिन्दा हुन् । क्रिकेटको माध्यमबाट बारा र पचरौतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै नगरपालिकाले दुवै खेलाडीलाई सम्मान गरेको हो ।
खेलाडीलाई सम्मान गर्न पचरौताले विशेष कार्यक्रमको आयोजना गरेको थियो । सो क्रममा नगरपालिकाले एनपीएलको ट्रफीसहित खेलाडीलाई नगर परिक्रमा समेत गराएको थियो । नगर परिक्रमामा नगरपालिकाका जनप्रतिनिधिसहित स्थानीयबासिन्दा, खेलाडीलगायत सहभागी थिए ।अभिनन्दन समारोहमा नगर प्रमुख सिंहले एनपीएलको प्रथम संस्करणको विजेता टोलीका महत्वपूर्ण खेलाडीलाई सम्मान गर्न पाउँदा आफू हर्षित रहेको बताउनुभयो । खेलाडीको हौसला बढाउनका निम्ति पनि नगरपालिकाले अभिनन्दन कार्यक्रमको आयोजना गरेको नगर प्रमुख सिंहको भनाई थियो ।अभिनन्दन कार्यक्रममा नगरपालिकाका प्रवक्ता एंव वडा अध्यक्ष लक्ष्मी यादव, प्रमुख प्रशासकीय अधिकृत गौरी साह, वडा अध्यक्ष बनारसी विन, धेनुक राउत कुर्मी, मकबुल मियाँ, प्रेम चौधरी, गगनदेव यादव, शिक्षा संयोजक पण्डित त्रिपाठी, शिक्षा सहायक मुकेशकुमार सिंहलगायत उपस्थित थिए ।