वीरगञ्ज,पर्साको ठोरी गाउँपालिकामा बाघ र जंगली हात्तीले एकै साथ आतंक मच्चाउँदा स्थानीय त्रसित छन् ।
चितवन र पर्सा राष्ट्रिय निकुन्ज तथा भारतको बाल्मिकी टाइगर रिजर्भ समेतले घेरिएको यो पालिकाको सबै वडामा हाल हात्तीको आतंक व्याप्त रहेको ठोरी— १ का चिरन्जिवी सापकोटाले बताउनुभयो । किसानको धान बाली पाक्न थालेपछि हात्ती धान खान आउने गरेको उहाँले बताउनुभयो ।

पालिकाको ५ वटै वडामा २ सातायता निकुन्जहरुबाट आउने बथानका बथान भएर हात्तीले आतंक मच्चाएको उहाँले जानकारी दिनुभयो । उहाँले एउटा बथानमा ६ देखि २५ वटाको संख्यामा बगालमै आउने गरेको सुनाउनुभयो । हात्ती धपाउने परम्परागत तरिकाबाहेक स्थानीयसँग कुनै उपाय नरहेको र किसानहरु पीडित हुदै आएको उहाँले गुनासो गर्नुभयो ।त्यसैगरी, झण्डै २ महिनादेखि वडा नम्बर १ को इच्छानगर र चौतारा, वडा नं ३ ब्रम्हानगर र वडा नं ५ सुवर्णपुर क्षेत्रमा बाघले आतंक मच्चाएको छ । पालिकाभरि निकुन्जनजिक रहेको मानव बस्तीमा २ देखि ३ वटा बाघ प्रवेश गरेर स्थानीयको चौपाया खाने गरिरहेको छ । वडा नं ३ ब्रम्हानगरका सेते गोलेले गत बुधबार राति १० बजे बाघले आफ्नो खोरबाट एकै साथ २ वटा बाघ खाएको बताउनुभयो ।

अन्य स्थानीयको समेत गरी दर्जन बढी खशि बाख्रा यहा मात्रै बाघले खाएको छ । स्थानीय रामबहादुर आले मगरले धेरै स्थानीयले हुलाकी सडक खण्डको शिकारीबास पुल छेउछाउ सडकमै सम्साझै बाघ देखेको बताउनुभयो ।
पुल आसपासको क्षेत्र चितवन र पर्सा निकुन्ज तथा भारतको बाल्मिकी टाइगर रिजर्भको समेत संगमस्थल रहेको र शिकारीबास खोला वन्यजन्तुको परम्परागत जैविक मार्ग समेत रहेकाले त्यस क्षेत्रमा वन्यजन्तुको आवागमन बढी हुने गरेको हो ।

Leave a Reply