वीरगञ्ज,गएको २२ जेठमा पर्सा प्रहरीले वीरगञ्जबाट ५ लाख ९० हजार स्रोत नखुलेका रकमसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लियो । प्रहरीले शंकास्पद अवस्थामा हिडिरहेको बेला बिहार रक्सौल निवासी बब्लु रौनियारलाई वीरगञ्जको प्रतिमा चोकबाट नियन्त्रणमा लिएको हो ।यसअघि गत बैशाख २४ गते पनि पर्सा प्रहरीले स्रोत नखुलेको ठूलो परिणामको रकमसहित पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकाका रविकुमार पटेललाई पनि वीरगञ्जबाटै नियन्त्रणमा लिएको थियो ।

विशेष सूचनाको आधारमा पक्राउ परेका उनको साथबाट १३ लाख १५ हजार रुपैयाँ फेला परेको थियो । बरामद रकमको स्रोत खुल्न नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि चलायो ।स्रोत नखुलेको रकमसहित पक्राउ परेका यी दुईजना त पछिल्ला उदाहरण मात्रै हुन् । पर्सा जिल्लामा प्रहरीले दिनहुँजसो यस्तो रकम बरामद गर्नेगरेको छ । प्रहरीको तीन वर्षे तथ्यांकमा स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेहरुको संख्या झण्डै ५ दर्जनको हाराहारीमा छ । यो अवधिमा प्रहरीले ५५ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । आर्थिक वर्ष ०७८÷०७९ देखि ०८०-०८१ सम्ममा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ५५ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार ०७८-०७९ मा २२ जना, ०७९-०८० मा २२ जना र ०८०-०८१ मा ११ जना गरी ३ वर्षमा ५५ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेकाहरुमध्ये केहिमाथि भने मुद्दासमेत दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रवक्ता दिपक भारतीले बताउनुभयो । उहाँका अनुसार ३८ जनामाथि भने बित्तीय कारोबार ऐन (हुण्डी) शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक कारबाही चलाइएको छ । मुद्दा दर्ता भएकाहरुमध्ये सबैभन्दा बढी आर्थिक वर्ष ०७९-०८० मा रहेका छन् । यो वर्ष १७ जना उपर मुद्दा दर्ता चलेको छ । त्यसपछि ०७८-०७९ मा १४ जना र ०८०- ०८१ मा भने जम्मा ७ जनामाथि मुद्दा दायर गरिएको प्रवक्ता भारतीले जनाउनुभयो ।सो अवधिमा प्रहरीले हुण्डीमार्फत ल्याइएको चार करोड २० लाख ४ हजार ६२० नेपाली रुपैँया बरामद गरेको विवरण छ ।
आर्थिक वर्ष ०७८-०७९ मा १ करोड ६५ लाख १३ हजार ६२०, ०७९-०८० मा एक करोड ९३ लाख ६६ हजार ३०० र ०८०-०८१ मा ६१ लाख २४ हजार ७०० नेपाली रुपैँया बरामद भएको प्रहरी आँकडा छ । वितेको वर्ष ०८०-०८१ मा ९ हजार ८०० भारतीय रुपैँया समेत बरामद भएको प्रहरी विवरणमा उल्लेख छ ।

Leave a Reply