काठमाण्डौं,बृहत् नागरिक आन्दोलनले चुरे संरक्षण पदयात्रा टोलीमागहरुप्रति ऐक्यबद्धता जाहेर गरेको छ । शनिवार प्रेस विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाउँदै मागहरूप्रति नेपाल सरकार गम्भीर हुँदै धर्नारत टोलीसँग अविलम्ब वार्ता गर्न र चुरे संरक्षणका ठोस तथा प्रभावकारी कार्यक्रमहरू अविलम्ब अगाडि बढाउन माग गरेका छन् ।

चुरे संरक्षण पदयात्रा टोली जेठ १० गते माइतीघर मण्डलामा धर्नारत छन् । सप्तरी जिल्लाको भारदहदेखि २४ दिनको कष्टप्रद पैदल यात्रा पश्चात उनीहरू जेठ १० गते काठमाडौँ आइपुगेका हुन् ।
चुरे दोहनको प्रत्यक्ष असर भोगेका २५ जना नागरिकहरुले बैशाख १६ देखि चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको आयोजनामा सम्मिलित चुरे संरक्षणपदयात्रा गरेका हुन् ।चुरे क्षेत्रको अवैध उत्खनन, सिर्सियालगायतका नदीहरुको प्रदुषण एवं अतिक्रमणको विरोध तथा चुरे र वनजंगल संरक्षण, संवर्द्धन, दलित, भूमिहीन, सुकुम्वासीहरूको भूमि अधिकारका निम्ति गरिएको चुरे संरक्षण पदयात्रा तथा धर्ना कार्यक्रमप्रति बृहत् नागरिक आन्दोलनको ध्यानाकर्षण भएको छ ।

चुरे संरक्षणका लागि जनस्तरबाट यसरी आवाज बुलन्द हुँदा पनि सरकार उनीहरूका मागप्रति उदासीन देखिनु खेदजनक भएको पनि आन्दोलनको भनाई छ ।चुरे पहाड भू–जैविक, भौगर्भिक आदि दृष्टिकोणले कमलो, संवेदनशील वातावरण र वन स्रोत तथा–जैविक विविधताको भण्डार रही आएकोमा विगत केही दशकदेखि विकासका क्रियाकलाप तथा मानवीय क्रियाकलापका कारण व्यापक क्षयीकरण र विनाश भएको छ ।चुरे क्षेत्रमा हुने गरेको भूस्खलन, चुरेबाट उत्पत्ति भएका नदीहरूबाट हुने कटान र बाढीजस्ता प्राकृतिक विपदमा भएको वृद्धि तथा चुरेक्षेत्रमा भएको नवविनाशले गर्दा चुरेभावर क्षेत्रको जलसञ्चयी क्षमतामा कमी आएको छ ।जलवायु परिवर्तनका कारण नियमित वर्षामा भएको बदलाव, तापक्रमको अनपेक्षित वृद्धि जस्ता कारणले यी समस्यालाई अझै विकराल बनाएको छ ।

Leave a Reply