सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ स्थित फत्तेपुर बजारमा रहेका अनधिकृत संरचनामा शनिवार डोजर लगाएर भत्काइएको छ । उपमहानगरपालिकाको स्वामित्वमा पर्ने हाट बजारको उक्त जग्गा ओगटेर बनाइएका संरचनामाथि कार्यालयले डोजर चलाएको हो ।

साविकको फत्तेपुर गाविस वडा नम्बर ३ (क) को कित्ता नं. १७ को १८ कठ्ठा जग्गामा अव्यवस्थित र अनधिकृत तरिकाले बनेका २० वटाभन्दा बढी घरटहरा भत्काउन सुरु गरिएको छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराबीच संरचना भत्काउन पुगेको उपमहानगर र वडाको टोलीले अवरोधको भने सामना गर्नुपरेन । उपमहानगरपालिकाले डोजर चलाउन थालेपछि उक्त घरटहरामा बस्दै आएका स्थानीय आफैले सामान सुरक्षित स्थानमा सारेका छन् भने केहीले आफै भत्काउन थालेका छन् ।
उक्त घरटहरामा केहीले बसोबास गरिरहेका थिए भने केहीले व्यापार व्यवसाय गरिरहेका थिए । घरटहरा भत्काउन दलबलसहित पुग्नुभएका नगर प्रमुख राजन पौडेलले अनधिकृत संरचना हटाउन शुरुमा केही समस्या भए पनि पछि सहज भएको बताउनुभयो । स्थानीयले समेत घरटहरा हटाउन सकारात्मक भूमिका खेलेको नगर प्रमुख पौडेलले सुनाउनुभयो ।
यसअघि अनधिकृत संरचना भत्काउने उपमहानगरपालिकाको निर्णयविरुद्ध उच्च अदालतमा रिट समेत परेको थियो । उक्त रिटमाथिको बहसपछि अदालतले हाट बजारको नाममा रहेका वर्तमान संरचना अनधिकृत रहेको ठहर गरेपछि अतिक्रमण हटाउने बाटो खुलेको थियो ।
उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले उक्त अनधिकृत संरचना हटाउनका लागि यसअघि पटकपटक छलफल समेत गर्नुभएको थियो । अव्यवस्थित र अनधिकृत संरचना हटाएर व्यवस्थित बजार निर्माण गर्ने उपमहानगरपालिकाको उदेश्य रहेको नगर उपप्रमुख अधिकारीको भनाई छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष श्यामबाबु खाँले हाट बजारको नाममा रहेको उक्त जग्गा खाली गरेर वडा कार्यालयको भवनसहित व्यवस्थित बजार निर्माण गरिने बताउनुभयो । जग्गाको पश्चिमतर्फ वडा कार्यालय र पूर्वतर्फ व्यवस्थित बजार निर्माण गर्ने योजना रहेको वडा अध्यक्ष खाँले बताउनुभएको छ ।घरटहरा भत्काउदा केही स्थानीयलाई असहज भएपनि अधिकांशको बसोबासको विकल्प रहेको बताइएको छ । असहज भएका स्थानीयलाई तत्कालका लागि वडा कार्यालयले व्यवस्थापन गर्नेसमेत खाँले बताउनुभयो ।फत्तेपुरमा डोजर चलाएको उपमहानगरपालिकाले साविकको डुमरवाना गाविस वडा नम्बर ४ हाल जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ भारती चोकदेखि दक्षिणतर्फ वडा नम्बर १३ जोड्ने बाटोमा बनेका घरटहरा हटाउन समेत दोस्रो पटक सूचना जारी गरेको छ ।नाला निर्माण गर्नुपर्ने भएकाले उक्त बाटोमा पर्ने घरटहरा हटाउन उपमहानगरपालिकाले जेठ ३ गते १५ दिने सूचना निकालेको हो । यसअघि उपमहानगरपालिकाले चैत्र १० गते प्रथम पटक सूचना निकालेको थियो ।


















