वीरगञ्ज,वीरगन्जमा दाइजोरहित विवाह गरेका दुई दम्पतिलाई विवाहस्थलमै सम्मानित गरिएको छ ।वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर– ८ पानीट्याङ्कीस्थित डायमण्ड पार्टी प्यालेशमा भइरहेको विवाहस्थलमै पुगेर बालविवाह एवम् दाइजो उन्मूलन अभियानले नवविवाहित दुई दम्पतिलाई सम्मानित गरेको हो ।बेहुला औरेन्जब अहमद र बेहुली निकात खातुन तथा बेहुला जावेद अहमद र बेहुली साहिन आरालाई अभियानका तर्फबाट मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गदी, अभियान पर्सा संयोजक प्रकाश थारुसहितकाले सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।
पर्साको धोबिनी गाउँपालिका– ५ का औरेन्जेब अहमद र बाराको परवानीपुर गाउँपालिका– ३ की निकात खातुन तथा औरेन्जेबका आफ्नै सहोदर भाइ जावेद र पर्साको कालिकामाई गाउँपालिका– १ की साहिन आराको शनिवार राती एउटै विवाहस्थलमा विवाह भएको थियो ।
दुवै दम्पतिले दाइजोरहित विवाह गरी समाजमा सकरात्मक सन्देश दिएकाले दुवै दम्पतिलाई सम्मानित गरिएको अभियानका संयोजक थारुले बताउनुभयो । दुबै बेहुलाका दाजु तबरेज अहमदले दाइजोकै कारण आफ्नो विवाहिता बहिनीको केहि वर्षअघि निमर्म हत्या भएपछि दाइजोले दिएको पीडाको भुक्तभोगी आफ्नो परिवार रहेको बताउनुभयो ।त्यही पीडा सम्झेर दुबै भाइको दाइजोरहित विवाह गरिदिएको उहाँले बताउनुभयो । मधेसी समाजमा अहिले पनि दाइजोका कारण थुप्रै चेलीबेटीहरुले प्रताडना सहनु परेको, कतिपय चेलीबेटीले ज्यान नै गुमाउनु परेका घटनाहरु भइरहेकाले दाइजोमुक्त समाज निर्माणका लागि पनि दुवै भाइको बिहेमा दाइजोको रुपमा नगद वा जिन्सी केहि पनि नलिएको तबरेजले बताउनुभयो ।
















