पुष्पराज खतिवडा
मनहर्वा,लघुवित्त र सहकारी संस्थाबाट लिएको ऋण तिर्नु पर्दैन भनेर बारा जिल्लामा चलाइएको अभियानमा रोक लगाउन जिल्लाका सहकारीकर्मीहरुले माग गरेका छन ।अभियानको प्रभावमा परेर केही ऋणीहरुले रकम तिर्न आनाकानी गरेपछि सहकारी संचालकहरुको बैठक नै बसेर कथित अभियानलाई निरुत्साहीत पार्न र सो कार्यमा सक्रियमाथि कारबाही गर्न स्थानीय प्रशासनसंग माग गरेको हो । अभियानका कारण सहकारी संस्थाहरुले लगानी गरेको कर्जा असुलीमा नकरात्मक असर परेको भन्दै गलत अभियान संचालन गर्ने उपर कारबाही गर्न सम्बन्धित निकाय समक्ष माग पनि गरिएको छ ।बैठकले यस्तो अराजक गतिविधिले समाजमा आर्थिक संकट पैदा गर्ने निष्कर्ष निकालेको र जिल्ला प्रशासन कार्यालय बारा र पालिका कार्यालयहरुमार्फत त्यस्ता व्यक्तिहरुको पहिचान गरी कारबाहीको लागि अनुरोध गर्ने निर्णय समेत गरिएको संघका सचिव रामएकवाल चौधरीले जानकारी दिनुभयो ।अभियानको नाममा जिल्लाका विभिन्न क्षेत्रमा चलाइएको गतिविधिले जिल्लाका अधिकांश सहकारी संस्थामा ठुलो परिमाणमा भाखा नाघेको ऋण जोखिममा परेको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनीले बताउनुभयो ।जिल्लाका १६ वटा साना किसान कृषि सहकारी संस्थाहरु र १ सय ५० को हाराहारीका रहेका बचत तथा ऋण सहकारी संस्थाहरुमा यस्को प्रभाव परेको उहाँको भनाइ छ ।अध्यक्ष सहनीका अनुसार हाल जिल्लाका विभिन्न संस्थाहरुमा भाखा नाघेको ऋणको अनुपात १५ प्रतिशतसम्म पुगेको छ । जबकी सहकारी संस्थाहरुमा यस्तो ऋण ५ प्रतिशतभन्दा कम मात्रै हुनुपर्ने बताइन्छ ।‘सहकारी संस्थाका अधिकांश ऋणी सदस्यहरु पैसा तिर्नु पदैन भन्ने गलत अफवाहको पछाडि लागेका छन, उहाँले भन्नुभयो, जसका कारण सहकारीको लगानीमा जोखिम बढेको छ ।’सदस्यहरुले बचत गरेको रकम नै ऋणका रुपमा परिचालन हुने र ऋण लगानी गरिएको बचतकर्ताको रकम मिनाह गर्नै नसकिने अध्यक्ष सहनीको भनाइ छ ।बारा जिल्लामा करिब ४५ हजार घरपरिवारका सदस्य सहकारी संस्थामा आवद्ध रहेको र संस्थाले झण्डै १५ अर्ब बराबरको कारोबार गर्दैैआएको उहाँले जानकारी दिनुभयो ।बारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सत्यन्द्र ठाकुरले पनि सहकारी संस्थाहरुबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने गलत अभियान संचालन गर्नेहरुलाई राज्यले कारबाही गर्नुपर्ने बताउनुभएको छ । राज्य मुखदर्शक बनिदिदा अभियानकर्मीको नाममा समाजमा आर्थिक अराजकता फैलिएको उहाँको भनाइ छ । झापाका दुर्गा प्रसाईलगायत विभिन्न संघसंस्थाको नामा चलाइएको अभियानको प्रभाव बारा जिल्लामा पनि परेको हो ।



















