वीरगन्ज,पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष जितेन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ । चेक बाउन्स गराएको कसूरमा वडाअध्यक्ष पटेललाई प्रहरीले आइतबार साँझ उनकै गाउँबाट पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहनविक्रम केसीको नेतृत्वमा खटिएको टोलीले पटेललाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।किङ कसूरमा अदालतबाट पक्राउ पूर्जी जारी भएकाले पटेललाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । उहाँलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ ।वडाअध्यक्ष पटेलले काटेको १२ लाख रुपैयाँको चेक बैंकबाट बाउन्स भएको र त्यहि कसूरमा उनलाई अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ ।पटेल, २०७९ बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट बहुदरमाई नगरपालिकाको वडा नम्बर २ को वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसअघि २०७४ को निर्वाचनमा पनि उहाँ स्वतन्त्रबाट उम्मेदवार बनेर वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

















