वीरगंज १३ असोज ।
वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगंज, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्सा र सुरक्षाकर्मीको टोलीले बुधबार वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वा स्थित प्रगतिटोलमा सञ्चालनमा रहेको शुभमंगल पुजा घ्यु प्रोडक्टसमा छापामारी गरेका थिए ।

छापामारीको क्रममा गोदामबाट ध्युका डब्बा, स्टोभ ग्यास, बिर्को सिल गर्न मेशिन र भांडाकुंडा फेला पर्यो । तर, अखाद्य वस्तु मिसावट गरि उत्पादन गरिएको घ्यु भने फेला परेन् । जबकि सोमबार उपभोक्ता हित संरक्षण मञ्चका दुईजना त्यहा पुग्दा ठूलो परिमाणमा अखाद्यय वस्तु मिसाएर घ्यु बनाई भण्डारण गरिएको पाइएको थियो ।

शक्ति सुपर रिफाइन, पाम आयल, अमृत रिफाइन, डाल्डा लगायतका ब्रान्ड त्यहां उत्पादन हुंदै आएका थिए । दुई दिन अगाडि मात्र (सोमबार) अपराह्न एक बजे उद्योगमा पुग्दा भण्डारण गरि राखिएको घ्यु बुधबार फेला नपरेपछि सरकारी टोली लिएर छापामारी गर्न पुगेका उपभोक्ता मञ्च वीरगंज महानगरका पदाधिकारी आश्चर्यचकित बनेका थिए ।

एकजना सहयोगी लिएर सोमबार उद्योगमा पुगेका मञ्चका ती पदाधिकारीले मोबाइलमा तस्बिर देखाउंदै अस्ति मात्र यी घ्युहरु यहां राखिएका थिए, आज कता गायब पारेछन्, भनेर प्रश्न गरेका थिए । मञ्चका ती पदाधिकारीको कुरा सुनेर त्यहां रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षाकर्मी र सञ्चारकर्मीको टोली चकित बनेको थियो ।

उद्योग स्रोतका अनुसार उपभोक्ता हित संरक्षण मञ्च वीरगंज महानगरका पदाधिकारीले एक जना फोटो पत्रकारलाई लिएर आएका थिए । उत्पादन गरिएको घ्यु, डाल्डा, तेलको भिडियो लिएर मञ्चको टोलीले खान नहुने कुरा मिसाएर घ्यु उत्पादन गरिएको भन्दै मोलमोलाई गरेका थिए
‘साहुले ५० हजार रुपैयांसम्म दिन सकिने बताएका थिए,’ शुभमंगल पुजा उद्योगका एक कर्मचारी भन्छन्, ‘दुईजनाले सुरुमा ५० हजारमै सहमति जनाएका थिए । तर, रातको समयमा एक जनालाई कम्तिमा एक लाख रुपैयां चाहिने अडान लिएपछि कुरा बिग्रियो ।’ त्यसपछि उत्पादन गरिएका सामान रातारात अर्कै गोदाममा भण्डारण गरिएको ती कर्मचारी बताउंछन् ।

मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले रेकी गर्न गएका जिम्मेवारी साथीहरुले गल्ती गरेकाले नक्कली घ्यु बरामद नभएको स्वीकार्छन् । ‘हामी पनि करेक्शन हुन् जरुरी छ,’ उनले भने, ‘रेकी गर्न गएका महानगरका साथीहरु जिम्मेवार भएनन् ।’

रौतहट नगरपालिका वडा नम्बर २ गम्हरिया निवासी सुशीला देवीको नाममा शुभमंगल पुजा घ्यु प्रोडक्टस दर्ता भएपनि वीरगंज आदर्शनगरका लोकेश मित्तल मित्तलले उक्त उद्योग सञ्चालन गर्दै आएका छन् । २०७६ सालमा घरेलु तथा साना उद्योगमा वार्षिक एक करोड पूंजी देखाएर उद्योग दर्ता भएको पाइएको छ ।

४ वर्ष अगाडि मात्र वाराको प्रसौनीमा मित्तलले सञ्चालन गरेको उद्योगमा नक्कली घ्यु बरामद भएको थियो । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साका बिक्की राउत, उपभोक्ता संरक्षण मञ्चका उपाध्यक्ष अजय अधिकारी, केन्द्रीय सदस्य धीरज शर्मा, प्रदेश अध्यक्ष केसी लामिछाने लगायतको टोली रहेको थियो ।

Leave a Reply