नरेश गुप्ता
बरियारपुर,विगत एक हप्तादेखि बढ्दो शीतलहर र चिसोको कारण बाराका दुई स्थानीय तहले विद्यालय बन्द गर्ने निणर्य गरेका छन ।
जिल्लाको महागढीमाई नगरपालिका र देवताल गाउँपालिकाले मंगलबारबाट आगामी पुष २३ गते शक्रबारसम्मको लागि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन ।
बढ्दो शीतलहर र चिसोको कारण जनजीवन कष्टकर बन्दै गएपछि महागढीमाई नगरपालिका शिक्षा शाखाले सोमबार सूचना सार्वजनिक गर्दै नगरभित्रका सम्पुर्ण सामुदायिक विद्यालयहरु बन्द गरिएको शाखा प्रमुख रामबिशवास चौरसियाले जानकारी दिनुभयो ।
शितलहरले बालबालिकालाई पठनपाठनमा समस्या भएपछि विद्यालय केही दिनको लागि बन्द गरिएको हो ।
त्यसैगरी देवताल गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक विद्यालयहरु मंगलबारदेखि शुक्रबारसम्मको लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले जानकारी दिनुभयो । जिल्लामा बढ्दो शीतलहर र चिसोले जनजीवन कष्टकर बन्दै गएपछि बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन ।
पर्सामा पनि विद्यालय बन्द
वीरगन्ज,
तराई मधेसमा बढेको चिसोका कारण जनजीवन प्रभावित भएपछि पर्साका ३ स्थानीय तहले विद्यालयको पठनपाठन बन्द गरेका छन् । विगत ३ दिनदेखि चिसो र शीतलहरले पर्साका जनताको जनजीवन नराम्ररी प्रभावित गरेको छ ।
शीतलहरले गर्दा स्वास्थ्यमा प्रतिकूल समस्या नपरोस् भन्दै जिराभवानी, ठोरी र धोविनी गाउँपालिकाले पनि पालिकाका सम्पूर्ण संस्थागत र निजी विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
जिराभवानी गाउँपालिकाले आइतबार सूचना जारी गर्दै पुष २४ गतेसम्मका लागि विद्यालय बन्द गरेको छ भने ठोरी र धोविनी गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि पुष २३ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जिल्ला अन्य स्थानीय तहले भने अहिलेसम्म विद्यालय बन्द सम्बन्धी कुनै निर्णय गरेका छैन् । यता, अभिभावकले पनि विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।