पटेर्वासुगौली,पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ शीतलपुरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ निवासी अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको हात्तिको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

गत शनिबार राति १२ बजे उनलाई शीतलपुरस्थित खोलाको बगरमा हात्तीले आक्रमण गरेको थियो । जंगली हात्तीले आक्रमण गरे पनि प्रहरीले सूचना ढिलो पाएको थियो । घटनास्थल मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । मनहरीबाट चारजना जंगलको बाटो हुँदै पर्सा आउने क्रममा जंगली हात्तीलाई देखेपछि उनीहरू भागेका थिए । भाग्ने क्रममा सोमबहादुरलाई हात्तीले आक्रमण गरेको हो ।

भागेर घर पुगेकाहरू सोमबहादुरलाई खोज्दै भोलिपल्ट आउँदा उनी खोलाको बगरमा मृत भेटिएका थिए । रातिको समयमा जंगलको बाटो उनीहरू किन आएका थिए भन्ने बारेमा भने खुलेको छैन ।

मकवानपुरको मनहरी हुँदै जंगलको बाटो पर्साको पटेर्वासुगौलीमा रातिको समयमा अवैध लागूऔषध गाँजाको तस्करीसमेत हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here