कलैया,आउदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सुरक्षा गस्ति शुरु गरेको छ ।निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयहरित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न संयुक्त सुरक्षा गस्ति शुरु भएको हो ।
जिल्लाका विभिन्न स्थानमा सुरक्षा निकायहरूको संयुक्त परिचालन गरिएको छ । निर्वाचन क्षेत्रका संवेदनशील एवं अन्य सबै क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गस्ती शुरु गरेको हो । सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै नेपाली सेना लगायत अन्य सुरक्षाकर्मीहरूले दिन र रात दुवै समयमा जिल्लाका विभिन्न पालिकामा संयुक्त पेट्रोलिङ गरिरहेका छन् ।
निर्वाचनको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन यस्तो गरिएको हो। मतदाताहरूलाई ढुक्क भएर सुरक्षित तवरले मतदान गर्ने वातावरण सिर्जना गर्न सुरक्षा टोलीहरू टोल र बस्तीहरूमा पुगेको हो ।जिल्लाभरका मतदान केन्द्र र मतगणना स्थलहरूको सुरक्षा संवेदनशीलतालाई हेर्दै सुरक्षाकर्मीहरूको परिचालनलाई थप प्रभावकारी बनाइएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।



















