कृष्णउदास खनाल
वीरगञ्ज,वीरगञ्जका युवाबीच हरि पन्त नौलो नाम होइन । हरि पन्त, जसले समस्यामा परका, आपतमा परेकाहरुलाई साथ दिने व्यक्तिको रुपमा वीरगञ्जमा परिचय बनाउनुभएको छ ।
पन्त त्यही व्यक्ति हुनुहुन्छ, जसले अघिल्लो साल त्रिशुली नदीमा दुुईवटा यात्रुबाहक बस खसेर धेरै जनधनको क्षति भएपछि पीडितका लागि नारायणघाटका होटलमा निःशुल्क आवास र भोजनको व्यवस्था गरिदिनुभएको थियो । त्यसैगरी कोरोना महामारिको समयमा आफ्नो होटललाई आइसोशलेन बनाउन दिएर धेरैको ज्यान बचाउने कार्यमा मद्दत गर्नुभएको थियो ।
वीरगञ्जका करिब आधा दर्जन होटलमा लगानी गरेका पन्त होटल तथा पर्यटन ब्यवसायी संघ पर्साकै अध्यक्ष हुनुहुन्छ । कोरोना कालभन्दा अगाडि वीरगञ्जका होटलहरुको अवस्था राम्रो थियो । प्रायः होटल भरिएकै हुन्थे जब कोरोना आयो तब यहाँको व्यवसाय धरापमा पर्न थाल्यो ।
कोरोना कालमा आफ्नो लगानीमा रहेका सबैजसो होटल आइसोलेशन बनाउन दिएका पन्त त्यसपछिको वातावरण सहज नभएको बताउनुहन्छ । सरकार, स्थानीय सरकार लगायतले समेत आफुहरुलाई हैरान दिएको देखेर वाक्क भएपछि यसपालीको प्रतिनिधि सभा सदस्य चुनावमा उहाँले पनि उम्मेदवारी दिनुभएको छ ।पर्साको निर्वाचन क्षेत्र नम्बर १ का आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको हो । युवाको चाहना परिवर्तन रहेको र रास्वपाले पनि केही गर्ने आशा जगाएका कारण आफू पनि रास्वपाकै तर्फबाट उम्मेदवार भएर चुनावी मैदानमा उत्रिएको पन्तले बताउनु भएको छ । आफूले जिते पर्सा जिल्ला बनाउने कुरा त छदै छ, उद्योगी व्यवसायी तथा युवाहरुलाई रोजगार दिलाउने विषयमा पनि नीति बनाउनका लागि दिनरात लाग्ने उहाँको तर्क छ ।
होटल व्यवसाय क्षेत्रलाई अझै व्यवस्थित बनाउन सके धेरैलाई रोजगार दिन सकिने र यसका लागि केही नीति अझै आवश्यक रहेको उहाँले मतदाता माझमा बताउदै आउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति समेत रहनुभएका पन्तले उद्योग व्यवसाय राम्रोसंग संचालन भए देशको आर्थिक अवस्था निकै अगाडि बढ्ने पनि बताउनुभयो ।पर्साको क्षेत्र नम्बर १ मा यसपालि पुराना दलका पुराना उम्मेदवारसंगै नयाँ दलका नयाँ उम्मेदवार र केही केही स्वतन्त्र समेत चुनावी मैदानमा छन् । जनताले नयाँलाई यसपालि खोजेकाले चुनाव भने आफूले नै जित्ने पन्तको दाबी रहेको छ ।पर्सामा कुल चारवटा निर्वाचन क्षेत्र रहेका छन् र सबैमा रास्वपाले उम्मेदवार खडा गरेको छ । अघिल्लो प्रतिनिधि सभा चुनावमा भने यहाँ रास्वपाले उम्मेदवार दिएको थिएन ।

















